काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराईका जिल्लाहरूमा व्यापक राजस्व चुहावट र तस्करी भइरहेको सूचना प्राप्त भएको भन्दै राजस्व चुहावट र तस्करी नियन्त्रणमा गम्भीर भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले मंगलबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्रीले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
राजस्व असुली र तस्करी नियन्त्रण गर्न परिणाम मुखि नतिजा निकाल्न निर्देशन दिँदै उनले तस्करी नियन्त्रण गर्न नसके सोहि अनुसार मुल्यांकन गरी दण्डित गरिने बताए ।
‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छु,’ गृहमन्त्रीले भने, ‘गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’ गृहमन्त्री लेखकले पछिल्लो समय साइबर अपराधका घटना समेत बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए ।