गण्डकी । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् ।
अन्तर व्यवस्थापिका मञ्चको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनिधिसभा, राष्ट्रियसभाका साथै सातवटै प्रदेशका संसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए ।
संसद्को प्रभावकारी भूमिकाले सरकारका गतिविधिलाई प्रभावकारी बनाउने उल्लेख गर्दै उनले दलहरूको महत्वपूर्ण भूमिका हुने धारणा राखे ।
परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँंल्याउँदै सभामुख घिमिरेले सङ्घ र प्रदेशबीच राम्रो समन्वय हुनु जरुरी भएको बताए । सङ्घबाट बनेका कानुुनको प्रभावकारी कार्यान्वयन प्रदेशबाट हुन नसकेको जिकिर गर्दै उनले अन्तर व्यवस्थापिका मञ्चका यस किसिमका सम्मेलनले समस्या समाधान गर्न मागदर्शन गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा धेरै राम्रा प्रावधान रहे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा विभिन्न प्रश्न उठ्ने गरेको बताए । कतिपय कानुनको अभावका कारण सङ्घ र प्रदेशबीच खाडल तयार भएको उल्लेख गर्दै दाहालले त्यसतर्फ ध्यान दिनु जरुरी रहेको बताए ।