काठमाडौँ । एसीसी यू–१९ महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको आफ्नो दोस्रो खेलमा नेपाल र भारतले अङ्क बाँडेका छन् । खराब मौसमका कारण खेल प्रभावित बनेपछि दुई टोलीले अङ्क बाँडेका हुन् ।
नेपालले भारतलाई जितका लागि ९५ रनको लक्ष्य दिएको थियो । भारतले ३.१ ओभरमा बिना कुनै विकेटको क्षतिमा २८ रन बनाएको अवस्थामा हावाहुरीसँग वर्षा भएपछि खेल रोकिएको थियो ।
यसअघि मलेसियामा जारी खेलमा टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनाएको थियो ।
नेपाल र भारत यसअघि नै सुपर–४’ चरणमा प्रवेश गरिसकेको छ । नेपालले सोमबार खेलिएको आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई ६ विकेटले हराएको थियो । भारतले पनि यसअघि पाकिस्तानलाई नै हराएको थियो ।