काठमाडौं । नेकपा एमालेबाट अलग भई माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादीले २०७९ सालको निर्वाचनबाट संसदमा राष्ट्रिय दलको समेत मान्यता प्राप्त गर्न सकेन ।
ठूला दलहरूको गठबन्धन बनाएर निर्वाचनमा होमिएको नेकपा एसले राष्ट्रिय दलको मान्यता पाउन नसक्दा एमाले भने दोस्रो पार्टीमै दर्ज भयो । मंसिर १६ गते सम्पन्न स्थानीय तह उपचुनावमा शून्य नतिजा आएको यो दलले राजनीतिक अस्तित्व जोगाउने कसरतमा छ ।
नेकपा एमालेबाट विद्रोह गरी माधव नेपाल समूहले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेको साढे दुई वर्ष बढी भइसकेको छ । एमालेबाट विद्रोह गरे नयाँ पार्टी बनाए पनि पार्टीले गति लिन सकेको छैन ।
एमाले नै मूल शक्तिका रुपमा उदाएपछि नेकपा एसका नेता कार्यकर्ताहरू धमाधम पुरानै पार्टीमा फर्किरहेका छन् । केन्द्रदेखि जिल्लासम्म नै पहिरो जाने क्रम रोकिएको छैन । एमालेसँग विद्रोहको बेलामा साथ दिएका नेताहरू नै महाधिवेशनमा पराजित भए । पार्टी महाधिवेशनपछि नेता कार्यकर्ताहरूको असन्तुष्टि झनै चुलिएको छ ।
पार्टी अस्तित्व जोगाउनका लागि समाजवादी मोर्चा गठन भए पनि मोर्चा सक्रिय हुन सकिरहेको छैन । मोर्चामा सहभागी सबै दलहरूले मोर्चा उपयोगको रणनीतिमै थिए । समाजवादी मोर्चा हुँदै पार्टी एकताको चर्चा चलेपनि पार्टी एकता सहज छैन ।
पछिल्लो स्थानीय तहको उपचुनावको नतिजाले त नेकपा एसका नेता कार्यकर्ताहरूलाई निराश नै बनाएको छ । त्यसैले पार्टीको सांगठनिक संरचना नै फेरबदल गर्ने तयारीमा माधव नेपाल रहेका छन् । नेताहरूको कार्य विभाजन तथा सांगठनिक संरचना फेरबदल गर्न नेपाल नेतृत्वमा कार्यदल नै गठन भएको छ ।
एमालेसँगको विद्रोहका बेला अलग रहेका घनश्याम भुसाल पार्टीमा भित्रिए पनि पार्टीले गति लिन नसकेपछि अहिले पार्टी निर्माणको योजनाबारे छलफल भएको छ ।
पार्टीसँग एकताको सम्भावना नरहेको निचोड निकालेको नेपका एस पार्टी निर्माणको अरु विकल्प नभएको निष्कर्षमा पुगेको छ ।
नेकपा एसमा महाधिवेशनबाट सिर्जित असन्तुष्टि, अन्तरसंघर्षले पार्टी विभाजनकै बिउ नै रोपेको थियो । महाधिवेशन सकिएको केही समयपछि नै केही नेताहरू पार्टी विभाजनको तयारीमा जुटेका थिए ।
एमाले(कांग्रेस मिलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर एसलगायत अन्तरद्वन्द्वमा फसेका साना दलहरू विभाजन गर्ने रणनीति लिएका थिए । त्यसमा ओलीभन्दा ज्यादा नेकपा एसकै असन्तुष्ट नेताहरूले सक्रियता बढाएका थिए ।
तर, अन्तिम समयमा कांग्रेसको एउटा समूहको असन्तुष्टिका कारण अध्यादेश आएन । तत्कालका लागि नेकपा एसको विभाजन रोकियो । पार्टी विभाजन रोकिएपछि नेकपा एस पार्टी विस्तारमा लागेको हो ।
जसको लागि नेकपा एसले प्रदेश, जिल्ला, जनसंगठन, विभाग र प्रवास कमिटीका इञ्चार्ज, सहइञ्चार्ज तोक्ने तयारी गरेको छ । त्यसका लागि अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त कार्यदलमा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, वरिष्ठ नेता वेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसाल छन् ।