Logo
Logo

डीआईजी बन्ने लाइनमा एसएसपी रानादेखि थपलियासम्म


10k
Shares

काठमाडौं । नेपाल प्रहरीमा तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) पद रिक्त छ । उमेर हदका कारण अर्जुन चन्द अवकास तथा दुर्गा सिंह र भरत बहादुर बोहरा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएपछि उनीहरुको स्थान रिक्त भएको हो ।

तर, सरकारले तत्कालै डीआईजी बढुवाको प्रक्रिया अगाडि नबढाउने भएको छ । अबको १५ दिनपछि थप दुई पद रिक्त हुने भएकाले एकैसाथ ५ जना डीआईजी बढुवा गर्ने सरकारको तयारी छ ।

हालै मात्रै एआईजीमा सिफारिस भएका बोहरा १५ दिनपछि नै अवकाश हुनेछन् । काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्रचार्य पनि पुस १५ गतेदेखि अनिवार्य अवकाश हुनेछिन् । उनीहरु दुई जनाको अवकाशपछि हालका दुई डीआईजीहरु एआईजीमा बढुवा हुनेछन् ।

त्यसपछि रिक्त डीआईजीको संख्या ५ पुग्नेछ । रिक्त ५ पदका लागि आकांक्षीहरु धेरै भएकाले पनि ५ जनाकै एकसाथ डीआईजीमा बढुवा गर्ने सरकारको तयारी छ ।

अब रिक्त हुने स्थानमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा भर्ना भएका अधिकारीहरु र २०५४ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका अधिकारीबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि बढुवा गर्दा एसएसपीको वरीयताक्रम अनुसार नै बढुवा गरिएको थियो । अब पनि त्यसै गर्ने सम्भावना छ । तर ५ जना डीआईजीका लागि ६ जना एसएसपी मुख्य दाबेदार देखिएका छन् ।

जसमा एसएसपी ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया मुख्य दाबेदार देखिएका छन् । राना अब डीआईजीमा बढुवा हुने एसएसपीको पहिलो नम्बरमा छन् ।

अब यी ६ जना मध्येबाटै ५ जना डीआईजी बढुवा गर्ने तयारी छ । वरीयता अनुसार नै बढुवा गरिए थपलिया छुट्नेछन् । तर थपलिया पनि अहिले नै बढुवा हुनका लागि चर्को लबिइङमा छन् । उनलाई बढुवा गरिए आचार्य र पौडेल मध्ये एक जना छुट्नेछन् ।

यही ब्याचका र सँगै एसएसपी भएका अरु अधिकारीहरु पनि छन् । तर उनीहरु भने अहिले नै एसएसपीमा बढुवा हुने सम्भावना कम छ । एसएसपीहरु माधवप्रसाद श्रेष्ठ, दिपेन्द्र घर्ती क्षेत्री, दिपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला र दिपककुमार बस्नेत पनि यही टोलीका हुन् ।

यस्तै जयराम सापकोट, सुरेन्द्रबहादुर गुरुङ, संजीव शर्मा दास र शारदाप्रसाद चौधरी पनि २ वर्ष अघि नै एसएसपी भएको टोलीका हुन् । तर उनीहरु भने आगामी चैतमा मात्रै डीआईजीमा बढुवा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्