Logo
Logo

निर्मला पन्त हत्या प्रकरणमा नयाँ शिराबाट अनुसन्धान


1.5k
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे प्रहरीले फेरि अनुसन्धान थाल्ने भएको छ ।

निर्मलाको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नयाँ टोली खटाउने भएको हो । अनुसन्धानमा खटिएका अधिकृतहरूसँग छलफल गरेर एउटा निष्कर्ष निकालेर नयाँ कोणबाट फेरि अनुसन्धान अघि बढाउन लागिएको सीआईबी स्रोतले जनाएको छ ।

०७५ साउन १० गते घरबाट साथीको घर गएकी निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो । घर नजिकै उखुबारीमा उनको शव फेला परेको थियो ।

त्यसपछि भएका पटकपटकका अनुसन्धानमा हत्यारा पत्ता लगाउन नसकेको प्रहरीले फेरि नयाँ शिराबाट अनुसन्धान थाल्न टोली खटाउन लागेको हो । छलफल सकेर एउटा निचोड निकालेपछि अनुसन्धानका लागि नयाँ टोली पठाइने सीआईबीले जनाएको छ ।

गत साउन १० गते मात्रै पन्तको बलात्कार–हत्या भएको ६ वर्ष पूरा भएको छ । तर अहिलेसम्म हत्यारा पत्ता लगाउन प्रहरीले सकेको छैन ।

कञ्चनपुरकै नेता रमेश लेखक अहिले गृहमन्त्री छन् । यसअघि उनले समेत पन्तको बलात्कार र हत्यारालाई सरकारले पत्ता लगाउन नसकेको भन्दै आलोचना गरेका थिए । तर अहिले अनुसन्धान गर्ने जिम्मेवारी निकायमै उनै लेखक पुगेका छन् । तर हत्यारा अहिलेसम्म पहिचान हुन सकेको छैन ।

६ वर्षको अवधिमा ५ जना गृहमन्त्री र प्रहरी प्रमुख फेरिए, ६ वटा समिति बने, तर अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।

घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको आन्दोलनका क्रममा भीमदत्त–१८ का १५ वर्षीय सनी खुनाको ज्यानै गएको थियो । यो बीचमा १२४ जनाको डीएनए जाँच, ६५५ जनासँग सोधपुछ गरिए पनि नतिजा शुन्य छ ।

प्रतिक्रिया दिनुहोस्