काठमाडौं । माओवादी घटक दलहरूबिच २०६४ सालको विरासत फर्काउने गरी पार्टी एकता गर्ने चर्चा र सेलाउने हुँदै आएको छ । सशस्त्र युद्ध गरेर संविधानसभा संविधान, गणतन्त्र, संघीयताजस्ता मुद्दा स्थापित गरेको दाबी माओवादीले गर्दै आएको छ ।
जनताका यिनै मुद्दा स्थापित गरेको दाबी गर्दै माओवादी धारका दलहरूले बेलाबेला पुरानो विरासत फर्काउने गरी पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।
माओवादी बृहत् वामपन्थी एकताको पक्षमा उभिँदै आएको छ । गत साउनमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् वामपन्थी एकता र कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि अघि बढ्ने प्रस्ताव गरेका थिए ।
अहिले विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीबाट विद्रोह गरेको महिन्द्र राय यादव समूह माओवादी केन्द्रसँग एकताका लागि कुरेर बसेका छन् । विप्लवको पार्टी र यादव समूहले नौ महिनाअघि नै माओवादसँग पार्टी एकता गर्ने निर्णय गरेपनि हालसम्म एकताले मूर्तरूप लिन सकेको छैन ।
एकताले मूर्तरूप लिन नसकेपछि विप्लव नेतृत्वको नेकपाले माओवादी अध्यक्ष प्रचण्डमाथि सबै दोष थुपार्न थालेको छ । माओवादी केन्द्रका प्रचण्ड निकटका नेताहरूले पार्टी एकता नजिक पुगिरहेको बताइरहँदा विप्लव नेतृत्वको नेकपाले भने प्रचण्डकै कारण एकतामा ढिलाइ भएको निष्कर्ष निकालेको छ ।
कपिलवस्तुमा बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले तत्काल माओवादीसँग एकता नभए विचार संश्लेषणका लागि ६ महिनाभित्र विशेष महाधिवेशन वा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ ।
एकताका लागि माहौल नभए आफ्नोतर्फबाट थप पहल नगर्ने भन्दै नेकपाले माओवादीको आगामी केन्द्रीय समितिको निर्णय हेरेर पार्टी अघि बढाउने निष्कर्ष समेत निकालेको छ । यता माओवादीमा भने पार्टी एकता गर्दा समानस्तरको समायोजनले सांगठनिक संरचना थप भद्रगोल हुने खतरा बढेको छ ।
गत मंसिर २८ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले एकीकरण हुँदा वाम घटकहरूमा जुनजुन स्तरमा कार्यरत थिए, सोही स्तरमा समायोजन गर्ने निर्णय गरेको थियो । यो निर्णयले सांगठनिक संरचना थप भद्रगोल हुने खतरा भएको माओवादी नेताहरूले बताउन थालेका छन् ।
यही पुस २१ गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकबाट विप्लव नेतृत्वको नेकपा, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि औपचारिक निर्णय गर्ने माओवादीको तयारी छ ।
त्यसबाहेक एकीकृत समाजवादी, नेकपा बहुमत, आम जनता पार्टी लगायत स–साना वामपन्थी पार्टीहरूसँग पनि एकताका लागि छलफल भइरहेको छ । तर, एकीकृत समाजवादीले तत्काल कसैसँग एकता नगर्ने र आउँदो चुनावमा एक्लै लड्ने निर्णय गरिसकेको छ ।
यसअघि बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पनि माओवादीले पार्टी एकता गर्ने लिखित सहमति नै गरेको थियो । दुवै पार्टीको एकीकरणपछि आगामी महाधिवेशनबाट नयाँ नाम टुंगो लगाउने सहमति पनि गरिसकेका थिए ।
तर, बाबुरामलाई बाइपास गर्दै अर्का अध्यक्ष महेन्द्र राय यादवसँग एकता गर्ने सहमति गरेपछि बाबुराम भने बिच्किएका थिए । अहिले विप्लव नेतृत्वको नेकपासँगको एकता प्रक्रिया ठोस रूपमा अगाडि बढ्न नसक्दा अन्योल देखिएको छ ।
सैद्धान्तिक रूपमा दुई पार्टीबिच एकता गर्न कुनै मतभिन्नता देखिँदैन तर मार्गदर्शक सिद्धान्त, साङ्गठनिक संरचनाको विषयमा कुरा नमिल्दा एकता प्रक्रियाले ठोस आकार पाउन सकेको छैन । त्यसैले माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीच पनि एकता हुने संशय पैदा भएको छ ।