Logo
Logo

रविको हिरासतमा सुतिरहेको तस्वीर बाहिरिएपछि प्रहरीले थाल्यो अनुसन्धान


5.9k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रहरी हिरासतमा सुतिरहेको तस्वीर बाहिरिएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

हिरासतजस्तो देखिने कोठामा ओढ्ने ओढेर सुतिरहेको तस्बिर बुधबार रातिदेखि सामाजिक सञ्जालमा राख्दै त्यो रवि लामिछाने नै भएको दाबीसहित भाइरल बनाइएपछि कास्की प्रहरीले अनुसन्धान थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बाहिर आएको तस्वीर रविकै हो भन्न नसकेपनि त्यस विषयमा अनुसन्धान थालिएको बताए । उनले भने, ‘त्यो तस्वीर कसको हो, होइन, कसरी बाहिरियो, ती सबै कुरा पत्ता अनुसन्धान गरिरहेका छौँ ।’

रास्वपाका नेता दिपक बोहोराले उक्त तस्बिर आफ्नै सभापति रवि लामिछानेकै भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक लाइभमै आएर आफुले भर्खरै सभापतिलाई भेटेर आएको र उक्त तस्वीर हिरासतभित्रैकाे भएको दाबी गरे ।

‘मैले पनि कतै सामाजिक सञ्जालमा देखेर उक्त तस्वीर सेयर गरेको थिएँ । धेरै जनाले एआईले बनाएको तस्वीर हो कि ? भन्ने प्रश्न गर्नुभएपछि म भर्खरै हिरासत गएर दाईलाई भेटेर आएँ,’ उनले लाइभमै भनेका छन्, ‘त्यो तस्वीर हिरासतभित्रैको हो । तस्वीरमा देखिएका किताबहरु सबै दाईले पढ्नुभएका हुन् । उहाँले १६ वटा किताव पढिसक्नुभएको छ ।’

साथै उनले यस तस्वीरका विषयमा पार्टीले समेत छानविन गर्न रवि लामछानेले भनेको उनले बताएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीअन्तर्गत संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा समेत रवि गत कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

पछिल्लोपटक अर्थात् आठौँपटक यही पुस २ गते जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

कास्की प्रहरीले यही पुस १ गते रविसहित ५१ जनलाई प्रतिवादी बनाउँदै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ।

अब सरकारी वकिल कार्यालयले उक्त मुद्दा भोलि (शुक्रबार) अदालतमा दर्ता गराउनले तयारी गरेको छ । किनकि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि बढीमा ९० दिन मात्र हिरासतमा राख्न पाइने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्