काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने हिरासतभित्र सुतेको तस्बिर रास्वपाकै समर्थकले खिचेको पाइएको छ ।
हिरासतजस्तो कोठामा रवि लामिछाने सिरक ओढेर सुतिरहेको देखिने उक्त तस्वीर बुधबार रातिदेखि एक्कासी सामाजिक सञ्जालमा भाइरल भएपछि रास्वपा समर्थक डा निकोलस भुसालले सो तस्वीर आफुले खिचेको स्वीकार गरेका हुन् ।
उक्त तस्वीरलाई लिएर सरकार र प्रहरीको आलोचना तथा विभिन्न खालका टिकाटिप्पणी हुन थालेपछि डा भुसालले सामाजिक सञ्जालमार्फत माफी मागेका छन् ।
उनले भनेका छन्, ‘यो फोटो रियल हो । मैले नै खिचेको हो गल्ती भएको हो माफी चाहान्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ ।’
यस्तै उनले एक युट्युब च्यानलसँग कुराकारी गर्दै उक्त तस्विर प्रहरीले सार्वजनिक नगरेको बताएका छन् । आफूले रविको अवस्थाबारे जानकारी दिने उद्देश्यले प्रहरीकै अगाडी सीसीटिभी स्क्रिनबाट तस्विर खिचेको उनले बताएका छन् ।
‘मलाई त्यो कुरा गैरकानुनी भएको थाहा थिएन । चितवनबाट रातारात पोखरा लगिएपछि उहाँको स्वास्थ्य अवस्थाबारे सबै चिन्तित हुनुहुन्थ्यो । त्यसैले मैले रवि दाईको अवस्थाबारे जानकारी दिने भनेर उक्त तस्विर लिएको हुँ’ उनले भने । डा भूसालले त्यो दिन रविलाई पनि भेटेको बताएका छन् ।
उनले कानुनविपरीत काम गरेको भए सजाय भोग्न तयार रहेको पनि बताएका छन् । साथै उनले प्रहरीलाई दोष नलगाउन समेत आग्रह गरेका छन् । ‘रवि दाई हिरासतमा सुरक्षित छन् । उहाँलाई राम्रै तरिकाले राखिएको छ । स्वास्थ्य चेकजाँच पनि भइरहेको छ । त्यो कुरालाई सनसनीपूर्ण रुपमा नगरिदिन र दोष लगाउने काम नगरिदिन रास्वपाका साथीलगायत सबैलाई आग्रह गर्छु’, डा निकोलसले भने ।