Logo
Logo

बहुदल आएपछि…


189
Shares

“बन्दुकको आवाजले धर्ती थर्किन्छ, रगतको टाटाले मुटु चर्किन्छ,
बहुदल आइछाड्यो देशमा– जनताले चाहे खोला पनि फर्किन्छ
जिउ ज्यानको बाजी लगाएर सडकमा ज–जसले देशको निम्ति रातो रगत चढाए,
ती महान नारी–पुरुषलाई मेरो मनभरीको सलाम !”

यी हरफहरू चीनको टिभी हेर्दाहेर्दै लेख्न पुगेछु । परदेशमा बसेर देशको चिन्ता लिइरहेको धेरै भइसकेको थियो । बल्ल चीनको टिभीमा नेपालमा बहुदल आएको र आन्दोलनमा हिंडेका जनताको भिडियो क्लिप देख्न पाइयो । परिवर्तन भइरहेको एकटुक्रा नेपाल देख्न पाएँ, मन हाँस्न खोज्यो, रुन पनि खोज्यो ।

यो २०४६ को जनआन्दोलनको खबर थियो । देशमै भएको भए के कति गरिन्थ्यो थाहा छैन । परदेशमा गर्ने त विदेशी मित्रहरूसँग दुःखसुख बाँड्ने हो । सक्दो प्रचार गर्ने हो । साथीहरूलाई हौसला बाँड्ने हो । आफू धैर्य लिएर बस्ने हो ।

नेपालको इतिहासमा यसरी प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू एकजूट भएर प्रजातान्त्रिक अधिकार पुनस्र्थापना गराउन सकेकोमा नेपाली जनताको नाममा आफै पनि गौरावन्वित भएँ । “फुटाउ र शासन गर’’ को नीतिका विरुद्ध एकजूट भएर अधिकार लिन तम्सेका जनतालाई मैले टाढैबाट नमन गरेँ ।

नेपालमा खुट्टा तान्ने प्रवृति हुन्छ भन्ने गरिन्छ । व्यवहारमै पनि यसको अनुभव नभएको होइन । तर त्यतिबेला भने सबै एक भएको देख्दा मन फुरुङ्ग भयो । जीवनमा एउटा ठुलै सपना पुरा भएको बेला थियो । मनमा विजयको अनुभूतिले उत्साह र खुसी थपिदियो । समय सधैँ एकनास हुँदैन, कहिलेकाहीँ यस्तो खुसीको क्षण पनि आउँदोरहेछ ।

देशमा राजनीतिक परिवर्तनको समाचारले यसरी खुसी भइरहेकै बेला नेदरल्याण्डकी पाकी मित्र मारियनले फोन गरेर सुनाइन् “बधाई छ सुलो ! तिम्रो लेख युनिसेफले कपिराइट किन्ने भएछ । राम्रै पैसा पाउँछौँ …’’

मेरो आँखाबाट खुसीको आँसु बर्सियो । आर्थिक अभाव भन्ने कुरा कति ठुलो ! लामो समय यही समस्याले हैरान भइरहेको बेला अचानक यस्तो कुरा सुन्न पाउँदा खुसी लाग्ने नै भयो ।
मान्छेले गरे यो दुनियाँमा हुन नसक्ने कुरै के रहेछ र ? केही पछि देशमा अन्तरिम सरकार बनेको कुरा समाचारमा सुनेँ ।

पञ्चायती शासन ढलेपछि जनताले आफ्नो रगतको आहुति दिएर फेरिएको सत्ताका सारथी भएर नयाँ मान्छे आए । जनता र देशको भाग्य परिवर्तन भएजस्तो लाग्यो । नयाँ मन्त्रिमण्डलमा हामीले राम्रै चिनेका सातजना परेछन् ।

तीप्रति विश्वास पनि थियो । यिनीहरूबाट देशमा भ्रष्टाचार हुने छैन भन्ने आशा पनि थियो । “केही वर्षमा थाहा होला साथीहरू फेरि उस्तै ‘ठूला मान्छे’ बनेर आफ्नै भलोको निम्ति मात्र सोच्लान् कि क्रान्तिका सपना पुरा गर्न लाग्लान् …’’ अनेक तर्कहरू मनमा आइरहे ।

“पछि जे पनि हुन सक्छ, भविष्यको किन चिन्ता लिने ?’’ यस्तो सोच पनि आइरह्यो । जे होस्, त्यो समय भने मेरो पक्षमा थियो, जनताको प्रतिनिधित्व गर्न सक्ने आफ्नै साथीहरूको सरकार देख्न पाइएको थियो ।

त्यही बेला मेरो छात्रवृत्तिको समय सकिएको थियो । तर ६ महिनाको समय थपिदिएको खबर सुनेँ । त्यसले अर्को खुसी पनि थपिदियो । दिनदशा राम्रो भनेको यही हो कि ! “भाग्यमा होइन, कर्ममा विश्वास गर’’ भन्ने मान्यतामा हुर्केको भए पनि केही समय त दिनदशाका कुरा हो रहेछ कि जस्तो लाग्यो– एकपछि अर्को सकारात्मक समाचारहरू सुनेर ।

अब फर्किएर देशको निम्ति अझै राम्रा कर्म गर्न सकुँ भनेर आफैलाई शुभकामना पनि दिएँ । ससुराबुवाले “छोरीलाई नेपाल ल्याउन ढिलो नगर्नु, अब नेपालकै स्कूलमा पढाउनु पर्छ’’ भनेर चिठी पठाएको पठायै हुनुहुन्थ्यो । त्यति प्यारी छोरीलाई केही महिनाका निम्ति पनि आफूबाट छुट्याउने मन बिल्कुलै थिएन । तर परिस्थिति छिटछिटो परिवर्तन भैरहेको थियो ।

सरोजको सर्जिकल रेजिडेन्सी करिब करिब सिद्धिसकेको थियो । थेसिस सिद्ध्याउन मात्र बाँकी थियो । त्यतिन्जेल मेरो बाँकी पढाई पनि सकिन्छ, हेर्दै जाउँ भन्दै थिएँ । नेपालमा राजनैतिक परिवर्तन भएपछि सरोजलाई पनि एकपल्ट देश फर्केर आफ्नै आँखाले सबै देखेर भविष्यको योजना बनाउने इच्छा जागेछ ।

चीन आएदेखि एकपल्ट पनि देश फर्किन पाएको पनि थिएन, पैसा नभएर । अरु विद्यार्थी कति ओहोर दोहर गर्थे छुट्टिका बेला । हामी भने गएपछि उतैको उतै थियौँ । सरोज त झन् मभन्दा एक वर्ष अघि नै चीन पुगेको मान्छे । देश हेर्ने मन लागिरहेकै थियो– झन् त्यति ठूलो राजनीतिक परिवर्तनपछि त हतार लाग्ने नै भयो ।

लेखनबाट पैसा जुरेपछि देश फर्किन आँट पनि आयो । म नफर्के पनि बुवाले भनेजस्तो छोरीलाई लिएर सरोज छोटो समयको निम्ति घर फर्किने योजना पनि बन्न थाल्यो । साथीहरूलाई भेट्ने प्रबल इच्छा थियो उनको । बदलिएको देशको परिस्थितिमा कसरी आफ्नै किसिमले योगदान दिने ? हामी दिनहुँजसो यही विषयमा छलफल गर्न थाल्यौं । साथीहरूबाट पनि सबभन्दा बढी त अझ भरत प्रधान दाइबाट सम्भव भएसम्म छिटो फर्क भन्ने सन्देश आइरहेको थियो ।

डा. मथुरा श्रेष्ठ स्वास्थ्यमन्त्री बन्नुभएको थाहा थियो । भरत दाइ उहाँको सल्लाहकार हुनुभएछ । स्वास्थ्य क्षेत्रमा पनि ठुलै परिवर्तनको आवश्यकता थियो । यी सबै कारणले पनि सरोजमा उत्साह र कर्तव्यबोध सँगसँगै बढिरहेको थियो ।

चीन छोड्ने बेलामा बल्ल बाँच्न केही सजिलो लाग्दैथियो । बानी परेजस्तो पनि हुन थालेको थियो । त्यस्तैबेला एकदिन मेरो युनिभर्सिटीले त्यहाँको स्थानीय माध्यामिक स्कूलहरूको अवलोकन गराउन लग्यो । भोलिपल्ट स्थानीय पत्रिकामा मेरो पनि तस्बिर र नाम छापिएको रहेछ । छोरीले त्यो भेटेर उत्साहित हुँदै देखाउन ल्याई– मामु अब चीनमा नाम कमाउने भई भन्ने लागेछ उसलाई…।

तर जिन्दगी अर्कै मोडको नजिक पुग्दैरहेछ । त्यसको निम्ति अचम्मसँग वातावरण जुट्न पुग्यो । चीनको बालदिवसका दिन हामी आमाछोरीलाई नै एउटा कार्यक्रममा बोलाएका थिए । कुनै कुनै विदेशीहरूले एकभन्दा बढी बच्चाहरू ल्याएका रहेछन् । त्यो देखे पछि छोरीले घरमा आएर भनी “मलाई पनि भाइबहिनी चाहियो ! प्लिज ! भाइ भएपनि हुन्छ, बहिनी भएपनि !’’ त्योभन्दा पहिले चिनियाँहरूको एउटै मात्र बच्चा देखेकी थिई । बच्चाका भाइबहिनी वा दिदीदाइ पनि त हुन्छन् नि, भन्ने कुराको होश उसलाई त्यो कार्यक्रमले गराएको थियो । र, त्योसँगै उसमा एउटा ठुलै तृष्णा जन्मियो– दिदी हुने … ।

प्रतिक्रिया दिनुहोस्