काठमाडौं । लुम्बिनीमा करिब ६ वर्षदेखि थन्किएका विद्युतीय बस आजदेखि आंशिक रुपमा सञ्चालनमा ल्याइएको छ ।
एसियाली विकास बैंक (एडिबी)ले लुम्बिनी क्षेत्रमा पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा उपलब्ध गराएको हो । तर, सञ्चालनमा ल्याउन नसक्दा ६ वर्षदेखि खुला आकाशमा अलपत्र छाडिएको थियो । अत्याधुनिक ती विद्युतीय बस अलपत्र बनाइएको भन्दै जनस्तरमा समेत आलोचना हुँदै आएको छ । अहिले आएर लुम्बिनी विकास कोषले ती बस सञ्चालन ल्याएको हो ।
कोषका उपाध्यक्ष डा. ल्हारकाल अनुसार बिहीबारदेखि दुईवटा बस परीक्षणका रूपमा सञ्चालन ल्याइएको छ भने १ जनवरीदेखि पाँचवटै बस पूर्ण रूपमा सञ्चालनमा ल्याइने भएको छ ।
उनका अनुसार दुईमध्ये एउटा बस बुटवल–गौतम बुद्ध विमानस्थल–लुम्बिनी रुटमा र अर्को नेपाल–भारत सीमानाका बेलहिया–भैरहवा–एयरपोर्ट हुँदै लुम्बिनीसम्म सञ्चालन गरिने भएको छ । परीक्षणका रूपमा चलाइएका बसको भाडा तोकिएको छैन । गाडीभित्र डोनेसन बक्स राख्ने र यात्रुहरूले स्वेच्छाले भाडा तिर्न सक्ने लुम्बिनी विकास कोषले जनाएको छ ।
गौतम बुद्ध विमानस्थल निर्माणमा ऋण सहयोग गरेको एडिबीले पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि ्करिब १२ करोडमा पाँचवटा बस र १४ वटा भ्यान उपलब्ध गराएको हो । तर, अहिलेसम्म प्रायोजनमा ल्याइएको थिएन । सवारीसधान चार्ज गर्न लुम्बिनीमै सोलार प्लान्टसमेत जडान गरिएको छ । चार्जिङ स्टेसन बनाएपनि बस सञ्चालन नहुँदा उक्त प्लान्ट समेत अलपत्र छ ।
असोज ०७९ मा विश्व पर्यटन दिवसको अवसर पारेर तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा केही समय सञ्चालनमा आएपनि पछि सवारीसाधन कार्यविधि नभएको भन्दै बन्द गरिएको थियो । त्यसवेला बेलहिया, गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन भएको थियो ।