गण्डकी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाधार निर्माण र सेवा विस्तारका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन् ।
त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘फेवा संवाद’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले मुलुकको अर्थतन्त्र वृद्धि गर्दै विकास, निर्माणमा लगानी बढाउँदै जानुपर्ने उल्लेख गरे । उनले विदेशी र स्वदेशी लगानीका क्षेत्र बढाउँदै स्वदेशी उत्पादनमार्फत राजस्वमा वृद्धि गर्नुपर्ने बताए ।
पूर्वराष्ट्रपति भण्डारीले नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषिलाई व्यावसायिक बनाउन स्थानीयस्तरमा उद्योग स्थापना गरी स्वदेशी माग पूरा गर्नुपर्नेमा जोड दिए । उनले स्वदेशी उत्पादनको निर्यात बढाएर रोजगारी सिर्जना गरी दिगो विकास गर्दै नागरिकको आर्थिकस्तर उकास्न सकिने धारणा राखे ।
विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको पूर्वराष्ट्रपति भण्डारीले बताए ।
हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएका उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले कार्बन उत्सर्जनमा प्रमुख योगदानकर्ताका रूपमा विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्ने धारणा राक्झे ।
जलवायु परिवर्तनले वातावरणीय चुनौती निम्त्याउन न्यूनतम भूमिकामा रहेका राष्ट्रहरूलाई विकसित राष्ट्रहरूले उचित र पर्याप्त क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण जोखिममा परेका देशलाई अनुकूलन र हानीनोक्सानी क्षतिपूर्ति उपलब्ध गराउन स्पष्ट रूपमा वित्तीय स्रोत र प्रविधि दिनुपर्ने आवश्यकता औँल्याए ।
विश्वव्यापी रूपमा सफल, अनुकरणीय र उपयुक्त विकास अभ्यासबाट सकारात्मक पाठ सिक्नुपर्ने बताउँदै उनले केही दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको अनुभव हाम्रा लागि प्रेरणादायी हुने उल्लेख गरे ।