Logo
Logo

सुदूरपश्चिमविरूद्ध जनकपुर: ‘ह्याट्रिक हार’ कि दुई हारको बदला र उपाधि ? 


5k
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि कसले उचाल्छ भन्ने अब दुई दिनमा छिनोफानो हुँदैछ । उपाधिको लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्ने पक्का भइसकेको छ । 

आज (बिहीबार) भएको दोस्रो क्वालिफायरको खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर फाइनलमा पुगेको छ । सुदूरपश्चिम भने क्वालिफायरको पहिलो खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भेट हुँदा उपाधिको छिनोफानो हुनेछ । लिग चरणको खेलमा पनि दुई यी दुई टोली आमनेसामने भएका थिए । जसमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । योसँग जनकपुरको अपराजित यात्रा टुङ्गिएको थियो । त्यसअघि उसले लगातार चार जित निकालेकाे थियो । 

समूह चरणको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले जनकपुरलाई एक सय २४ रनको मध्यम लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको जनकपुर १२ ओभर १ बलमा ५१ रन बनाउँदै अलआउट भयो । यो एनपिएलमा बनेको सबैभन्दा कम स्कोर हो ।

उक्त खेलमा सुदूरपश्चिमले जनकपुरलाई हार मात्रै चखाएन, आफू अंक तालिकामा शीर्ष स्थानमा पनि उक्लियो । त्यसपछि जनकपुरले शीर्षस्थानमा उक्लिने मैका नै पाएन । 

लिग चरणको खेल सकिँदा सात खेलमा ६ जित र एक हारसहित १२ अंक जोड्दै सुदूरपश्चिम शीर्षस्थानमा रह्यो । जनकपुर भने पाँच जित र दुई हारसहित १० अंक जोड्दै दोस्रो स्थानमा रह्यो । योसँगै पहिलो क्वालिफायरमा यी दुई टोलीबीच फेरि भेट भयो ।

सुदूरपश्चिमले जनकपुरमाथि फेरि सानदार जित निकाल्यो । योसँगै सुदूरपश्चिम एनपीएलको फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जनकपुरले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

पहिलो क्वालिफायरमा पराजित भएपछि सुदूरपश्चिम दोस्रो क्वालिफायर खेल्न बाध्य भयो । इलिमिनेटरमा तेस्रो स्थानको चितवन राइनोजलाई पराजित गर्दै चौथो स्थानको कर्णाली याक्सले दोस्रो क्वालिफायरमा पुग्यो । 

बिहीबार (आज) भएको दोस्रो क्वालिफायरमा कर्णालीलाई दुई विकेटले पराजित गर्दै जनकपुरले तेस्रो पटक सुदूरपश्चिमसँग भेट पक्का गरेको छ ।  कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर ब्याटिङको निम्तो दिएको जनकपुरले एक सय १९ रनको लक्ष्य पायो । कर्णालीले निर्धातिर २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ बनाएको थियो । 

जवाफी ब्याटिङ गरेको जनकपुरले १८ ओभर पाँच बलमा ८ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । अब आगामी शनिबार उपाधिको लागि जनकपुरले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ । 

सुदूरपश्चिम यस प्रतियोगितामा उत्कृष्ट लयमा देखिएको छ । चितवनसँगको एकमात्र खेलमा पराजित भएको सुदूरले हालसम्म कुनै गल्ती गरेको छैन । ब्याटिङ बलिङ र फिल्डिङ तीनवटै क्षेत्रमा सुदूरपश्चिम अब्बल देखिएको छ ।

सुदूरपश्चिमको ओपनिङमा विनोद भण्डारी र सेफ अलि जैबको जोडीले मध्यम सुरूवात दिलाइरहेका छन् । फाइनलमा पनि उनीहरूलाई नै मौका दिइने पक्कापक्की छ । कप्तान दीपेन्द्र सिंह ऐरिले टिम राम्रो भएको र  उपाधि जित्ने माइन्डसेटले नै सुरूवातदेखि खेलिरहेको प्रतिक्रिया दिँदै आएका छन् । 

उता जनकपुर भने सुरूवाती चार खेल लगातार जितेपछि लय धरमराएको टिम हो । तरपनि जनकपुरको टिम बलियो नै देखिएको छ । 

सुरूवाती समयमा जनकपुरको टप अर्डर ब्याटिङदेखि मिडल अर्डर र बलिङमा पनि सबै कुरा मिलेको देखिएको भएपनि त्यसपछिका प्रदर्शनले जनकपुरको ब्याटिङमा केही चिन्ता थपेको छ । यता, कप्तान अनिल साह घाइते हुँदा जनकपुर थप दबाबमा परेको छ । 

अहिलेसम्म देखिएको प्रदर्शनमा जनकपुरभन्दा सुदूरपश्चिम बलियो देखिएको छ । तर, ‘खेलको आँखा हुँदैन’ भन्न गरिन्छ । त्यसैले तेस्रो भेटमा पनि सुदूरपश्चिम हाबी होला वा जनकपुरले दुई हारको बदला लिँदै उपाधि उचाल्ला ? त्यसका लागि भने शनिवारको फाइनल नै कुर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्