Logo
Logo

रक्षात्मक ओली, उत्साहित प्रचण्ड


शरद् रिजाल

4k
Shares

नेपालका दुई वामपन्थी दलका शीर्ष नेताहरूको पछिल्ला अभिव्यक्तिले उनीहरूको मनोदशा प्रकट गरिरहेको छ । सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष केपी शर्मा ओली रक्षात्मक बन्दै जाँदा प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने निकै आक्रामक र आशावादी देखिन्छन् ।

पछिल्लो समय एक अर्काप्रति निकै आक्रामक ढंगले यी दुवै प्रस्तुत हुँदै आइरहेका छन् । ओली पूर्णतया सरकारमा रहन सहयात्री कांग्रेसलाई आश्वस्त तुल्याउन प्रयत्नरत छन्। उनले सत्ता गठबन्धनको निर्दिष्ट समयसीमाभित्र सरकारको नेतृत्व कांग्रेसलाई सुम्पिने विश्वास दिलाउँदै प्रतिपक्षी माओवादीप्रति आक्रामक ढंगले उत्रिएका छन् ।

यसको विपरीत प्रचण्ड भने निकै आशावादी देखिएका छन् । उनले आफू जहाँ पुग्यो त्यहाँ निन्दावादको नारा लाग्न थालेको अभिव्यक्ति दिन थालेका छन् ।

यी नेताद्वयको अभिव्यक्तिमा भूराजनीतिक चलखेलले प्रभाव पारेको र यसले सत्ता राजनीतिमा फेरबदल आउनसक्ने सम्भावित परिदृश्यको समेत आकलन गरिएको छ । चीन भ्रमणबाट फर्किए यता ओली सरकारको आयुबारे आफैँ अन्योलग्रस्त रहेको भावभङ्गी प्रकट गरिरहेका छन् । दक्षिणी छिमेकी भारतले आफूलाई उपेक्षा गरेको भन्दै चीन हानिएका उनी त्यसयता उनका अभिव्यक्तिमा निकै विरोधाभास र बेसुरा देखिन थालेको छ ।

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा पुगेका रास्वपाका सभापति रवि लामिछानेलाई सुरुमा बोकेर उपप्रधानसहित गृहमन्त्री बनाएका ओलीले अहिले उनीप्रति अमानवीय व्यवहार गर्न थालेका छन् । केहीदिन अघि गृह जिल्ला झापा पुगेर ओलीले देश चलाउन सहकारी ठगेजस्तो सजिलो हुँदैन भन्नेजस्तो तल्लो स्तरको अभिव्यक्ति दिएका थिए ।

यिनै ओली हुन् जसले संसदमा कांग्रेसले जोडदार रूपमा सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने आवाज उठाउँदा ठाडै इन्कार गर्ने गर्दथे । रविमाथि कुनै पनि अनुसन्धानको जरुरत नभएको बताउँदै रविको बचाउमा उत्रिएका थिए । अहिले भने आफैँ दोषी करार गर्न उद्यत देखिएका छन् ।

उनी यसबाहेक रास्वपालाई कुनै राजनीतिक योगदान नभएको दल भन्दै इतिहास बोकेको एमालेको विरुद्धमा प्रचण्ड र माओवादीले भ्रम छरिरहेको आरोप लगाइरहेका छन् । प्रधानमन्त्री ओलीका हरेक अभिव्यक्तिमा सत्ता गठबन्धनको बेचैनी प्रकट भइरहेको देखिन्छ । चीन पुगेर बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि उनका अभिव्यक्ति असन्तुलित र विपक्षी दलप्रति आवेगपूर्ण देखिएको छ ।

प्रचण्डको पनि भारतसँग निकटता देखाउन हरसम्भव प्रयत्न जारी छ । त्यसकै जोडबलमा सत्तारोहणको सपना उनले पनि देखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नातिनीको बिहेमा पठाएको शुभकामना सन्देशमार्फत भारतीय पक्षसँग पारिवारिक तहको सुमधुरसम्बन्ध देखाएर सत्तामा पुग्ने धृष्टता प्रचण्डले गरेका छन् ।

सुरुमा बिआरआई कार्यान्वयनमा ऋण स्विकार्न नसकिने अडानमा रहेको कांग्रेसको इच्छा विपरीत ओलीले सहमति गरेपछि सत्ता गठबन्धनमा किचलो बढेको सहजै बुझ्न सकिन्छ । यसैले चिढिएको कांग्रेस फकाउन ओली सत्ता सहकार्यको सहमति बमोजिम प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् । र, कांग्रेसलाई विश्वास दिलाउन प्रयत्नशील उनी अन्य दलप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिन थालेका छन् ।

तर, सत्ता गठन र विघटनको गृहकार्य कहाँबाट र कसले सुरु गर्छ भन्ने ओलीलाई राम्रैसँग हेक्का छ । तसर्थ, भारतलाई देखाउन पहिलो विदेश भ्रमण भन्दै चीन पुगेका ओली यतिबेला भारत जान तीव्र इच्छा देखाइरहेका छन् । चीनमा बिआरआई कार्यान्वयनको फ्रेमवर्कमा सम्झौता गरेपछि बदलिएको भूराजनीतिक जटिलताले सत्तायात्रामा ल्याएको संकट टार्न उनी भारत जान आतुर रहेको जानकारहरू बताउँछन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको समयमा भेटसमेत नगरेका ओली बाह्य र आन्तरिक कारणले निकै गहिरो संकटमा परेका छन् । उनले यही संकट मोचनका लागि परराष्ट्रमन्त्री आरजू राणालाई दोस्रो पटक आफ्नो भारत भ्रमणको लबिङ गर्न पठाएका छन् ।

यसअघि पटक पटकको भारत भ्रमणको प्रयास असफल भएपछि मात्रै उनी चीन हिँडेका हुन् । त्यसले पारेको बाह्य प्रतिकूल प्रभाव बुझेका ओली भारत नगई सरकारमा टिकिन्न भन्ने मनोदशाबाट ग्रसित भएर उतै जान भरमग्दुर जोड गरिरहेका छन् ।

यही बुझेर प्रचण्डले सुरुदेखि नै ओलीको चीन भ्रमणलाई चिनियाँ कार्डको संज्ञा दिएका थिए । पछिल्लो समय भारतको आशीर्वाद नभई सरकारमा पुग्न र टिक्न सकिन्न भन्नेमा यी दुवैको मतैक्य छ ।

यद्यपि, माध्यम दुवैले अलग अलग प्रयोग गरे पनि गन्तव्य भने नेपाली राजनीतिमा प्रभावशाली शक्ति राष्ट्र रिझाएर सत्तामा पुग्ने र त्यसलाई टिकाउने नै हो । सोही कारण आआफ्नो तर्फबाट दुवै भारत रिझाउने दाउमा लागेका छन् । ओली भारत भ्रमणमा जान सबै अस्त्र प्रयोग गरिरहनु त्यसकै उपज हो ।

प्रचण्डको पनि भारतसँग निकटता देखाउन हरसम्भव प्रयत्न जारी छ । त्यसकै जोडबलमा सत्तारोहणको सपना उनले पनि देखेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नातिनीको बिहेमा पठाएको शुभकामना सन्देशमार्फत भारतीय पक्षसँग पारिवारिक तहको सुमधुरसम्बन्ध देखाएर सत्तामा पुग्ने धृष्टता प्रचण्डले गरेका छन् ।

भर्खरै सम्पन्न आफ्नो नातिनी स्मिताको बिहेमा मोदीले पठाएको शुभकामना सन्देश सार्वजनिक गरिनुको मुख्य कारण त्यही हो । यसलाई भूराजनीतिक र कूटनीतिक कोणबाट निकै अर्थपूर्णरुपमा औँल्याइएको छ ।

यता, एमाले भने आफ्नो प्रतिरक्षामा सम्पूर्ण तागत लगाइरहेको छ । एमालेका नेताहरूले सार्वजनिक रूपमै स्थानीय तहको निर्वाचन परिणाम निकै निराशाजनक भएको स्वीकार गरेका छन् । अहिले एमालेमा ओलीको प्रतिरक्षा गर्ने प्रमुख भूमिका महासचिव शंकर पोखरेलले निर्वाह गर्दै आइरहेका छन् । उनीबाहेक अरूले खासै ओली विरोधीको प्रतिवाद गरेको देखिँदैन ।

सरकारप्रति जनताको असन्तुष्टि, पार्टीको खस्कँदो लोकप्रियता र भूराजनीतिक प्रतिकूलताले प्रधानमन्त्री ओलीमा निराशाभाव र हतास मनस्थितिले डेरा जमाएको देखिन्छ । यसैको उपज उनले आफ्ना अभिव्यक्ति असन्तुलित र विरोधाभासपूर्ण तवरले दिँदै आएका छन् ।

पहिले जस्तो आत्मविश्वासका साथ सार्वजनिक कार्यक्रममा समेत उनको उपस्थिति देखिँदैन । यसरी चौतर्फी संकटमा परेका ओलीले यसलाई टार्न सत्ता गठबन्धन ८४ सम्म टिक्ने बहुरङ्गी नाटक मञ्चन गर्दै कांग्रेसलाई विश्वस्त तुल्याउने चेष्टा गरिरहेका छन् ।

तर, प्रचण्ड भने ओलीको यही संकट र आफ्नो अनुकूल परिस्थितिले निकै आशावादी र उत्साहित छन् । कांग्रेस लचिलो बने सत्ता राजनीतिका लागि बाह्य र आन्तरिक दुवै आफ्नो पक्षमा रहेको प्रचण्डको बुझाइ छ । त्यसैले उनी आजभोलि संसदीय अङ्कगणित ख्याल गर्दै रवि लामिछानेप्रति सदाशयता प्रकट गर्दै ओली सरकारको विरुद्धमा उत्रिएका छन् । विकसित भूराजनीति र ओली प्रचण्डका क्रियाकलापले सत्ताको दाउपेचमा उलटफेरको सम्भावना देखिएको छ ।

निकट समयमै यी नेताद्वयमध्ये एकले सत्ताको चाबी पाउने र अर्काले गुमाउने परिस्थिति निर्माण भएकाले ओली हताश र प्रचण्डको उत्साहित मनोदशा अभिव्यक्तिमार्फत प्रकट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्