Logo
Logo

वामदेवको बिचल्लीः न एमालेले पत्याउँछ, न नेकपा एसले भित्र्याउँछ


2.3k
Shares

काठमाडौं । वामदेव गौतम कुनै बेला एमाले र नेकपाका निर्णायक नेता थिए । उनी जता ढल्किन्थे, उतै बहुमत पुग्थ्यो । तर, बेलैमा निर्णय लिन नसक्दा नेकपा विभाजनयता गौतम यता न उता भएका छन् ।

नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास हेर्दा नेता गौतमको ठुलो योगदान छ । तर, गौतमले ५० को दशकसम्म जुन लोकप्रियता आर्जन गरेका थिए, त्यो क्रमशः गुमाउँदै गइरहेका छन् । उनको लोकप्रियताको ग्राफ दिनानुदिन ओरालो लागिरहेको छ ।

पार्टीभित्रको इतिहासको हिसाबले उनी केपी शर्मा ओलीको विकल्पमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको समेत हैसियत दाबी गर्न सक्ने नेता हुन् । यही कारणले गर्दा गौतमले आफूलाई ‘भावी प्रधानमन्त्री’ र ‘भावी अध्यक्ष’का रूपमा सोच्ने गरेका थिए । धेरै पटक उपप्रधानमन्त्री एवं गृहमन्त्री भएर सरकारमा गएका गौतमसँग सरकार सञ्चालनको अनुभव पनि छ ।

मनमोहन अधिकारी र माधव नेपालका पालामा उपमहासचिव भइसकेका गौतमसँग पार्टी सञ्चालनको पनि अनुभव छ । तर, उनको स्वभाव ढुलमुले छ । एमाले पार्टीभित्र दुई लाइन संघर्षमा चल्दा उनी कहिले माधव समूहतिर, कहिले केपी ओलीतिर ढल्कने गरेका थिए ।

२०७८ भदैमा एमाले विभाजन हुँदा उनी नयाँ पार्टीमा जाने तरखरमा थिए । तर, सो पार्टीले जनताको बहुदलीय जनवाद (जबज)लाई मार्गदर्शक सिद्धान्त नस्विकारेपछि अन्तिम समयमा उनी नेकपा एकीकृत समाजवादीमा गएनन् ।

एमाले फुटाएर नेकपा माले बनाउँदा पनि उनी जबज छाडेका थिएनन् । एमाले विभाजनयता उनी नेकपा एस वा एमालेमा फर्किन अनेक प्रयत्न गरिरहेका छन् । एमाले अध्यक्ष ओलीसँग पटकपटक कुरा गरेका वामदेवले सार्वजनिक रूपमै एमालेमा फर्कन तयार रहेको बताउँदै आएका छन् ।

तर, गौतमलाई तत्कालै एमालेमा ल्याउन ओलीले रुचि देखाएका छैनन् । एमालेमा फर्किन उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्म पनि पुगे पनि ओलीले बेवास्ता गरिरहेका छन् ।

नेता गौतम बाहिरै हुँदा एमालेलाई तात्त्विक भिन्नता नपर्ने एमाले नेताहरूको विश्लेषण छ । यता, नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि उनले जबज स्वीकारे सो पार्टीमा आउन तयार रहेको भनिरहेका छन् । तर, आफ्नै पार्टी नेताहरूको व्यवस्थापन गर्न नसकेका नेपालले उपयुक्त समय पर्खन आग्रह गर्दै बेवास्ता गरिदिए ।

पछिल्लो समय नेकपा एस फुट्ने हल्ला चलेपछि उनलाई पार्टीमा भित्र्याएर विभाजन रोक्ने माधवले प्रयास गरे । सो पार्टीको स्थायी कमिटीको बैठकले गौतमसँग कुराकानी अगाडि बढाउने निर्णय समेत गरिसकेको छ ।

तर, गौतम नेकपा एसमा जाँदा ठुलो सन्देश जाने भन्दै एमालेले भने उनलाई अलमल्याउने नीति बनाएको छ । एमाले नेताहरूले गौतमलाई ‘धैर्य गर्नुस्, नआत्तिनुस्, हतारमा निर्णय नगर्नुस्’ भन्दै अलमल्याइरहेका छन् ।

नेकपा एसले स्वागत गर्न चाहेपछि पनि नेता गौतमको प्राथमिकतामा भने एमाले छ । तर, ओलीले नचाहँदासम्म एमालेमा फर्काउने वातावरण बनेको छैन । सत्तालोलुप नेताका रूपमा चित्रित भएकाले पनि गौतमलाई भित्र्याउन एमाले हिचकिचाइरहेको छ ।

२०७० सालको चुनाव हारेपछि अरूलाई राजीनामा गराएर पनि उनी सांसद हुन खोजेका थिए । त्यस्तै राष्ट्रियसभाको सदस्य बनेर प्रधानमन्त्री बन्नका लागि संविधानै संशोधन गर्न उनले जोडबल गरेका थिए । नेता गौतमका यस्ता स्टेपहरुले उनलाई अलोकप्रिय बनाउने र विवादमा मुछ्ने गरेको छ ।

सरकारमा रहँदा नेता गौतमले जनपक्षीय एवं लोकप्रिय काम गरेको रेकर्ड खासै छैन । उपप्रधानमन्त्री र गृहमन्त्री बनेर सरकारमा रहँदा पनि नेता गौतमले आफ्नो छवि लोकप्रिय बनाउने भूमिका खेल्न सकेनन् ।

जता लाग्दा पनि पूर्णरुपमा हेलिने स्वभावका कारण नेता गौतम बढी विवादमा तानिने गरेका छन् । अहिले नेता गौतमसँग एकता राष्ट्रिय अभियान नामको सानो समूह छ । यो सानो समूह लिएर अब उनी कता जान्छन् भन्ने चाहिँ आगामी दिनले नै देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्