Logo
Logo

वैदेशिक रोजगारीबाट फर्किका युवाले राष्ट्र निर्माणमा योगदान गर्नुपर्छ : श्रममन्त्री


252
Shares

पाटन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट फर्किएका युवा राष्ट्र निर्माणमा सहभागी हुनुपर्नेमा जोड दिएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२४ का अवसरमा पौरखी नेपाल र राष्ट्रिय महिला आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भण्डारीले विदेशबाट फर्केका श्रमिकले त्यहाँ आर्जेको सीप र पुँजी उपयोग गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘वैदेशिक रोजगारमा काम गरेर फर्कँदा उहाँहरुले केही न केही ज्ञान, सीप, संस्कार र लगनशीलता सिक्नुभएको हुन्छ, श्रम र समयको मूल्य बुझ्नु भएको हुन्छ, उहाँहरुमा भएको सीप, क्षमता र दक्षतालाई प्रयोगमा ल्याउनु आवश्यक छ, मुलुकको विकासमा उपयोग गर्नुपर्छ ।’

उनले आगामी दिनमा वैदेशिक रोजगारीमा जानेलाई भाषा, सीप र ज्ञान सिकेर जाने वातावरण बनाउनु आवश्यक रहेको बताए । उनले रोजगारदाता, तालिम केन्द्र र वित्तीय क्षेत्रलाई एकै ठाउँमा जोड्ने आफूहरुले प्रयन्त गरेको उल्लेख गरे ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले वैदेशिक रोजगारी बाध्यता र परिस्थितिजन्य अवस्था भएको बताए । उनले वैदेशिक रोजगारमा जाने घरेलुु श्रमिक महिलालाई सहज बाटोबाट जाने व्यवस्था नगर्दा समस्या आएको बताए । उनले कामलाई घृणा गर्नेभन्दा सम्मान गर्नुपर्ने उल्लेख गर्दै गृह श्रमिकलाई सामाजिक सुरक्षा जोड्न आवश्यक रहेको बताए ।

सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चीरञ्जीवी बरालले वैदेशिक रोजगारीबाट फर्किएकालाई नेपालमा काम गर्न समस्या भएको बताए । उनले व्यवसाय दर्ता गरेर नियमसङ्गत काम गर्दा प्राविधिक सहयोग, बजार व्यवस्थापन, उत्पादनको उचित मूल्य पाउन सक्ने अवस्था नहुँदा निरुत्साहित हुनु परिरहेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्