Logo
Logo

राष्ट्रको भविष्य युवा पुस्ता र उनीहरुले गर्ने नविनतम आविष्कारमा निर्भर रहन्छ : शिक्षामन्त्री


0
Shares

ललितपुर । शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री विद्या भट्टराईले मुलुकको समृद्धिका लागि अत्याधुनिक प्रयोगशालामा लगानी बढाउनुपर्ने धारणा राखेका छन् ।

नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठानको ४२औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजिज समारोहमा प्रतिष्ठानका सहकुलपतिसमेत रहेका मन्त्री भट्टराईले स्वदेशी ज्ञानको आधुनिकीकरणमा ध्यान केन्द्रित गर्दै जानुपर्नेमा जोड दिए ।

‘राष्ट्रको भविष्य युवा पुस्ता र उनीहरुले गर्ने नविनतम आविष्कारमा निर्भर रहन्छ, यसका लागि नेटवर्कको संयन्त्रलाई संस्थागत गर्दै शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टलिजेन्स (एआई)को प्रयोग बढाउँदै जानुपर्छ’, उनले भने ।

मन्त्री भट्टराईले विगत चार दशकदेखि मुलुकको विज्ञान र प्रविधिको क्षेत्रमा प्रतिष्ठानको योगदान अतुलनीय रहेको उल्लेख गरे । उनले विभिन्न रोग निवारण, फोहर व्यवस्थापन, वनस्पति अनुसन्धान, जलवायु परिवर्तनलगायत विषयमा प्रतिष्ठानले हासिल गरेको उपलब्धिले मुलुकको दिगो विकासमा टेवा पु¥याएको बताए ।

उनले प्रतिष्ठानको उद्देश्य प्राप्त गर्नका लागि समन्वय र सहयोगका लागि मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिष्ठानले विज्ञान र प्रविधिमार्फत मुलुकलाई उज्यालो भविष्य तिर डोहो¥याउनेमा विश्वास व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले विज्ञान र खोजको क्षेत्रमा प्रतिष्ठान र राष्ट्रिय योजना आयोगले सहकार्य गर्नुपर्नेमा जोड दिँदै यसका लागि नीतिगत तहमा विशेष व्यवस्था गर्न आवश्यक छलफल गर्नुपर्ने बताए ।

प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाले मन्त्रालयबाट प्राप्त सहयोग र समन्वयको निमित्त मन्त्रालय र मन्त्रीप्रति कृतज्ञता व्यक्त गरे । साथै आगामी दिनमा साथ र सहयोगको अपेक्षा राखेको बताए ।

समारोहमा विज्ञान र प्रविधिको क्षेत्रमा विशेष खोज तथा अनुसन्धानमा उत्कृष्ट शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी ५५ जनालाई पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्