Logo
Logo

पार्टी एकता गर्नेबारे माधव र वामदेव सकारात्मक


3.9k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहीबार साँझ भेटवार्ता गरेका हुन् ।

एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकमा ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई आफ्नो पार्टीमा समाहित गरी संयोजक गौतमलाई पार्टीमा ल्याउने विषयमा छलफल भएको थियो ।

नेपाल र गौतमबीचको भेटवार्तामा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डिबी कार्कीसहित सहभागी थिए । उक्त भेटमा दुई पार्टीबीच एकता गर्ने प्रस्ताव तयार गर्ने र छिट्टै एकता गर्नेबारेमा सकारात्मक छलफल भएको एकीकृत समाजवादीको सचिवालयले जनाएको छ ।

करिब दुई घण्टा भएको भेटवार्तामा नेताहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता तथा सहकार्यलगायत विषयमा छलफल भएको छ ।

गौतमले ‘पार्टी एकता राष्ट्रिय अभियान’ स्थापना गरी वामपन्थी दललाई एकताबद्ध गर्न विभिन्न गतिविधि सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्