काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले लोकप्रिय गीतकार एवं वैज्ञानिक डा शिव सुबेदीलाई सम्मान गरेको छ । नास्टको ४२औं स्थापना दिवशको अवसरमा बिहीबार राजधानीमा आयोजित समारोहमा भूकम्पविद् एवं गीतकार सुबेदी सम्मानीत भएका हुन् ।
नेपाली लोकसंगीत क्षेत्रका लोकप्रिय गीतकार डा सुबेदी केही साताअघि मात्र नेचर जर्नलले आयोजना गरेको ‘द जोन मेडेक्स अवार्ड’बाट सम्मानीत भएका थिए ।
विश्व विख्यात बैज्ञानिकहरुको निर्णयबाट ‘द जोन मेडेक्स पुरस्कार–२०२४’द्वारा सम्मानीत एवं पुरस्कृत भएका डा सुबेदीलाई नास्टले स्थापना दिवशको अवसरमा सम्मान गरेको हो । कार्यक्रममा नास्टमा आवद्ध विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई सम्मान गरिएको थियो ।
हाल नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठानमा भूकम्पविदको रुपमा कार्यरत सुवेदीले संगीत र बिज्ञानमा दुवै क्षेत्रमा उत्कृष्ट नतिजा दिन सफल भएका छन् ।
डा सुवेदीले नेपालको भूकम्पमा अनुसन्धान, सचेतना तथा पुर्वतयारीका साथै सरकारले त्यसका लागि उपयुक्त नीति लिएर तयारी गर्नुपर्ने कुरामा निरन्तर आवाज उठाइरहेका छन् ।
डा. सुवेदी नेपालका चर्चित गीतकार तथा संगीतकार पनि हुन्, उनले लेखेका घामजस्तो चम्किलो हुन हुदैन, भुमरीमा परे भने म, किन यस्तो हुन्छ, भुल्ने भयो धौ, बाँचेको छु धन्न, नरोउ है आमालगायतका दर्जनौँ गीतहरु लोकप्रिय छन् ।