काठमाडौं । संघीय संसदअन्तर्गत आज चार संसदीय समितिको बैठक बस्दैछ । संसद सचिवालयका अुनसार महिला तथा सामाजिक मामिला समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको हो ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा उपसमितिहरूको कार्य प्रगति समीक्षा सम्बन्धमा छलफल हुने छ । त्यस्तै बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ । यस्तै समितिको आगामी कार्यक्रम सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।
बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ । त्यसैगरी, साढे १२ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० को विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।