काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता महङ्गो भएको टिप्पणी तर्कसङ्गत नभएको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको स्मारिका आज लोकार्पण गर्दै उनले विषयवस्तुको गाम्भीर्य नबुझी सङ्घीयताका विषयमा नकारात्मक टिप्पणी गर्नु गलत भएको बताए ।
सभामुख घिमिरेले भने, ‘सङ्घीयतालाई कमजोर बनाउनेगरी व्याख्या भइरहेको छ, त्यो बेठिक छ । कैयौँ कुरा क्षमता, कानुन र बुझाइको अभावमा कमजोरी हुन पुगेका छन् ।’ उनले सङ्घीय शासन प्रणालीमा भएका कमी कमजोरी तथा असल अभ्यास र उपलब्धिको समीक्षा गर्न आवश्यक रहेको बताए ।
सभामुख घिमिरेले भने, ‘कानुन निर्माणदेखि सङ्घीयतालाई सहयोग पुग्ने काम गर्नुको साटो उल्टै सङ्घीयता बोझिलो, खर्चिलो र स्रोतको दुरुपयोग भयो भन्ने कोणबाट मात्र टिप्पणी भइरहेको छ, । संविधानका संशोधनमा सङघीयताका बारेमा बहस हुनु गलत छ ।’
सङ्घीयतासम्बन्धी अभ्यास, जिम्मेवारी र भूमिका कस्तो रह्यो भनी अब गम्भीर समीक्षाको खाँचो रहेको बताउँदै सभामुख घिमिरेले भने, ‘आगामी दिनमा सङ्घीय संसद्मा यसबारे पर्याप्त बहस र छलफलका लागि आवश्यक वातावरण मिलाइनेछ ।’
वित्तीय सङ्घीयताका ज्ञाता यमनाथ शर्माले ऋण लिएर भए पनि प्रदेश र स्थानीय तहलाई खर्चको व्यवस्थापन गरेकाले नेपाल सरकार वित्तीय सङ्घीयता कार्यान्वयका हिसाबले उदार रहेको टिप्पणी गरे ।