काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा भएका छन् । व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरी हिरासतमा रहेका प्रसाईंलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
शुक्रबार नै न्यायाधीश नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट रिहा भएका प्रसाईँले आफू सदैव तस्करविरुद्धको लडाई जारी रहने बताए । उनले आफूलाई अदालतले न्याय दिएको बताए । त्यस्तै उनले अब आफ्नो राजनीतिक यात्रा सुरु भएको उल्लेख गरे ।
‘मेरो लडाई जारी छ । तस्करहरु विरुद्धको लडाई जारी रहने छ । यो लडाईबाट दुर्गा प्रसाईं भाग्दैन । मेरो बोली भनेको सर्वहारा भुईँ मान्छेको बोली हो । उत्पीडन वर्गको बोली हो । कम्युनिस्टहरूले बोल्नु पर्ने आज मैले बोल्नुपर्यो’, उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि प्रहरीले व्यापारीलाई धम्की दिएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।