यतिबेला किरात समुदायमा उधौलीको रौनक छ । किरातीहरू प्रकृतिसँग लय मिलाउँदै उत्सव मनाइरहेका छन् । राई वस्ती ‘सोई सोई ला हो हुर्रा हा हा’ भाकाले गुन्जायमान छ । लिम्बू बस्तीमा धाननाच र पालामको रौनक बेग्लै छ । को तन्नेरी ? को युवा ? को बच्चा ? अनि को बुढा ? यसले सबैलाई छोएकै छ ।
किरातीहरू मंसिरे पूर्णिमामा उधौली र वैशाखे पूर्णिमामा उभौली मनाउने गर्छन् । यसलाई राईले साकेला र लिम्बूले चासोक तङ्नाम भन्ने गर्छन् । राई र लिम्बूबाहेकका याक्खाले चासुवा र सुनुवारले फोलस्यादर मनाउने गर्छन् । किरात समुदायले जसले जे भनेर मनाएपनि मूल अर्थ भनेको प्रकृतिको पूजा गर्नु हो ।
तर, फरक–फरक नाम दिएर किरात समुदाय नाचगानमा भुलिरहँदा अन्य समुदायले भने उधौली÷उभौलीलाई रमाइलो गर्ने पर्वको रुपमा अथ्र्याएको पाइन्छ । यो वर्षको मंसिर शुक्ल पूर्णिमा मंसिर ३० गते थियो । यही पूर्णिमादेखि उधौली सुरु हुन्छ । र, १५ दिनसम्म मनाइन्छ । उधौली सुरु भएको दिन सहकर्मीहरूको प्रश्न थियो– आज त टुँडिखेलमा नाच्न जाने होला हैन ?
यसले यो पर्व ‘टुँडिखेलमा जम्मा भएर होहल्ला गर्दै मनाउने चार्ड हो’ भन्ने भाष्य स्थापित हुँदै गएको भान हुन्छ । यसका साथै सांस्कृतिक पर्व नाचगान र रमाइलोमा मात्रै सीमित त छैन भन्ने प्रश्न उठेको छ । पर्वको सांस्कृतिक महत्व बुझाउन हामी कतै चुक्दै गएको छौँ । कतै हामीले पर्वको मर्म र धर्म भुल्न त थालेका छैनौँ ?
गर्मी बढ्दै गएपछि खोलाका माछा र वन्यजन्तु शीतल खोज्दै उँभो अर्थात् उकालो लाग्ने यामलाई उभौली भनिन्छ । माछा र वन्यजन्तु उकालो लागेको यामलाई नै उभौँली भनिएको हो । यो याममा अन्नबाली लगाइसकिएको हुन्छ । यो याम वैशाख आसपास पर्छ ।
उभौली याममा अन्नबाली लगाएपछि किरात समुदायले अन्नबाली राम्रो होस् ‘पाकेपछि तिमीलाई पनि भाग दिन्छौँ है’ भनेर प्रकृतिसँग भाकल गरेका हुन्छन् । सोही भाकलअनुसार अन्नबाली पाकेपछि उधौली याममा प्रकृतिलाई अन्नबाली चढाउने गरिन्छ ।
जब लेकमा चिसो सुरु भएपछि खोलाका माछा र वन्यजन्तु बेँसी अर्थात् (उँधो, ओरालो) लाग्छन्, त्यो यामलाई उधौली भन्ने गरिन्छ । त्यो याम मंसिर आसपास पर्छ । यो बेला अन्नबाली भित्रिएको हुन्छ ।
अन्नबाली लगाउने बेला अर्थात् उभौलीमा प्रकृतिलाई गरिएको भाकलअनुसार अन्नबाली पाकेको यो याममा गरिने उधौली पूजामार्फत प्रकृतिलाई अन्नको भाग बुझाइन्छ । साथै, अन्नबाली राम्रो भएकोमा प्रकृतिलाई धन्य प्रकटसमेत गरिन्छ ।
उधौली-उभौली किरात सभ्यताको एक सांस्कृतिक पक्ष हो । यसभित्र दर्शन छ । जीवन र जगतलाई हेर्ने छुट्टै दृष्टिकोण छ । तर, यसलाई धेरैले रमाइलो गर्ने पर्वको रुपमा अथ्र्याएको पाइन्छ । पर्वको सांस्कृतिक महत्व बुझाउन हामी कतै चुक्दै त गएको छौनौं ?
मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप किराती समुदायले उधौली र उभौलीमा भूमिपूजा गर्छन् । यो पर्व पृथ्वीमा ‘कृषियुग’ सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ ।
उभौली र उधौलीसँग जोडिएका अनेक आयामहरु छन् । विशेष गरेर उधौलीको रौनक धेरै हुन्छ । किनकि, उधौली उमंगको याम हो । बर्खा सकिएर भर्खरै सुरु भएको हिउँद साँच्चिकै रोमान्चक हुन्छ । नीलो आकाश र हरियो धर्ती, झुलेका पँहेला धान र अन्नबाली भित्रन थालेपछिको उल्लास बेग्लै हुन्छ ।
सबै कुराको सहजताको आधारमा यो याममा तन्नेरी र तरुनीबीच भेटघाट हुने, आपसी चिनाजानी गर्ने, मनका कुराहरू साटासाट गर्ने, मन परापर भएमा उमेर पुगेका युवा युवतबीच विवाहसम्म पुग्ने याम पनि हो ।
यसरी प्रकृतिको नियम जाडो, गर्मीलाई मानिसले कसरी सामना गर्दै आएको छ भन्ने झल्काउँछ । नेतृत्वमा पनि समभाव र समानता देखिन्छ । प्रत्येक साकेला सिलीमा जीवजन्तु, मानव र प्रकृतिको सांकेतिक वर्णन गरिएको पाइन्छ ।
यो याममा संस्कृति गतिविधि धेरै हुन्छन् । किरात राई समुदायमा ‘साकेला’ बहुचर्चित र लोकप्रिय सांस्कृतिक नृत्य हो । पुरुष कालो कोट, दौरा–सुरूवाल, कोटमा बुकी फूल सिउरिएर, खुकुरी भिरेर, फेटामा ठाँटिएर ‘हुर्रा हा हा’ भाकामा नाच्छन् । महिला छिटको गुन्यू, मखमलको चोली, छातीमा हारी, कम्मरमा पटुकी कसेर पहेँलपुर गरगहनामा सजिएर ताल मिलाउँदै गोलबन्द भएर सिली नाच्छन् ।
हातमा चौरीको पुच्छर, सिल्लिमो, पोमी, चमर, सिन्कौली सेउली, ढोल, झ्याम्टा, बिनायो लिएर ढोल–झ्याम्टाको तालमा सामूहिक रुपमा प्रकृतिका अनेक चालहरू साकेलाका सिलीहरूमा नाचिन्छ । हातखुट्टाको हाउभाउले पङ्क्तिबद्ध जीवजनावरको नक्कल गर्ने गरिन्छ । सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ ।
नृत्यमा सिलीमोपा, सिमीमोमा र मूल ढोलेको मुख्य भूमिका र महत्व रहन्छ । यी प्रमुखहरूले सिली टिप्नु र ढोल बजाउन गल्ती गरेमा स्वयं सिलीमोपालाई अनिष्ट हुने र गाउँमा अशुभ हुने विश्वास छ । साकेलामा नाचिने सिलीहरूले फगत नृत्य मनोरञ्जन मात्र नभएर यसले मानव विकासको इतिहास र सभ्यता बोकेको छ ।
धान नाच लिम्बू समुदायमा लोकप्रिय सांस्कृतिक नाच हो । यो पनि साकेलाजस्तै गोलाकार घेरा बनाइ सामूहिक रूपमा नाच्ने गरिन्छ । यसमा साइनो सम्बन्ध नलाग्ने युवायुवती धान नाचमा सरिक हुन्छन् । वृद्धवृद्धा पनि उत्तिकै सौहार्दता साथ नाचमा सरिक हुन्छन् । नाच्नुभन्दा अघि केटा र केटी पक्षबीच साइनो सम्बन्ध केलाउनुपर्छ । साइनो भए माफी मागेर छुट्नुपर्छ ।
नाम फरक होला । तर, उभौली र उधौली किरात समुदायले मनाउने पर्व हो । साकेला किरात समुदायभित्रको चाम्लिङ राई भाषामा मात्र ‘साकेला’ हो । अन्य राई भाषामा फरक–फरक नामले पुकारिन्छ ।
उधौली÷उभौली किरात सभ्यताको एक सांस्कृतिक पक्ष हो । यस सांस्कृतिक पक्षभित्र दर्शन छ । जीवन र जगतलाई हेर्ने एउटा छुट्टै दृष्टिकोण छ । दर्शनभित्र मानव प्रकृतिको उपज हो । प्रकृति नै ईश्वर हो । त्यसैले प्रकृतिको पूजा गर्नुपर्छ भन्ने मान्यता छ ।
तर, अन्य समुदायले यसलाई किन रमाइलो पर्वको रुपमा मात्रै लिन्छन् ? यसको मुख्य दोषी हामी नै हौँ । हामीले उनीहरूलाई यसको संस्कृति महतत्वबारे बुझाउन सकेको छैनौँ भन्ने प्रस्ट हुन्छ ।
कुनै बेला टुँडिखेलको ‘सोई सोई ला हो हुर्रा हा हा’को आवश्यकता थियो । शासकहरूलाई ‘हाम्रो पनि चार्डपर्व छ है’ भनेर देखाउनु थियो । त्यसैले राज्यको आँखा पर्ने ठाउँमा प्रदर्शनात्मक रुपमा टुँडिखेल लगायतका सार्वजनिक ठाउँमा पर्व मनाइन्थ्यो । त्यो एक आन्दोलन थियो ।
तर, आज त्यो परिस्थिति छैन । आज पनि टुँडिखेल वा टुँडिखेलजस्तै अरू ठाउँमा साकेला, चासोक तङनाम, चासुवा र फोलस्यादर मनाइरहन जरुरी छैन । यति मात्रैले हाम्रा चार्डपर्वहरुको सांस्कृतिक मूल्य र मान्यताहरुले व्यापकता पाउँदैन । र, मौलिकता पनि बच्दैन ।
यदि, सांस्कृतिक पुनर्जागरणको आन्दोलनलाई सफल बनाउने हो भने मौलिकता बचाउन आवश्यक छ । त्यसको लागि हामीले खोज अनुसन्धान गरी अन्य समुदायको साथै राज्यलाई पनि हाम्रो मौलिकता र संस्कृति महतत्वबारे बुझाउन जारुरी छ । यसलाई दस्तावेजको रुपमा स्थापित गर्नुपर्छ । अनिमात्र हाम्रा सांस्कृतिक चार्ड पर्वहरूको अस्तित्व कायम हुन्छ । तर, मौलिकताको नाममा यसका नराम्रा पक्षहरु यथावत् राख्नुचाहिँ हुँदैन, त्याग्दै जानुपर्छ ।