Logo
Logo

बिएण्डबी अस्पतालद्वारा विश्वस्तरीय मृगौला प्रत्यारोपण सेवा सुरु


441
Shares

काठमाडौं । ग्वार्कोस्थित बिएण्डबि अस्पतालले दुवै मृगौला स्थायी रूपमा फेल भएका बिरामीका लागि विश्वस्तरीय मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ । प्रो. डा. जगदीशलाल वैद्यको नेतृत्वमा दुवै मृगौला फेल भएका बिरामीका लागि विश्वस्तरीय मृगौला प्रत्यारोपण सेवा सुरु गरेको हो ।

अस्पतालले मंसिर २५ गते पहिलोपटक धरान निवासी ५५ वर्षीय पुरुषमा सफल प्रत्यारोपण गरेको छ । उनको दुवै मृगौला डाइबिटिजका कारण फेल भएको थियो । बिरामीलाई उनकी ५४ वर्षीया बहिनीले मृगौला दान गरेकी थिइन् ।

डोनरलाई पुस २ गते र बिरामीलाई पुस ४ गते अस्पतालबाट डिस्चार्ज गरिएको छ । हाल दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरूलाई नियमित फलोअपमा रहन सल्लाह दिइएको अस्पतालले जनाएको छ ।

यस सफल प्रत्यारोपणका लागि बि एण्ड बि अस्पतालको विशेषज्ञ टिमले महत्त्वपूर्ण भूमिका खेलेको छ । मृगौला प्रत्यारोपण सर्जनहरू डा. वीरेन्द्र प्रसाद यादव र डा. सरोज लाल वैद्य थिए भने नेफ्रोलोजिस्ट तथा किड्नी प्रत्यारोपण फिजिसियनका रूपमा प्रो. डा. शैलेन्द्र श्रेष्ठ रहेका थिए ।

साथै, एनेस्थेसिया विशेषज्ञको रूपमा डा. दिपेश धिताल रहेका थिए । यसबाहेक, मानव अंग प्रत्यारोपण केन्द्र (एचओटीसी), भक्तपुरका डा. पुकार श्रेष्ठ, डा. दिपेश श्रेष्ठ, र डा. सोभित थापाको प्राविधिक सहयोगले यो प्रक्रिया सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएको अस्पतालले जनाएको छ ।

यो सेवा मृगौला फेल भएका बिरामीको जीवनमा ठूलो परिवर्तन ल्याउने एक महत्वपूर्ण कदम बि एण्ड बीले जनाएको छ । साथै, यो सेवा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै विश्वस्तरीय सुविधा र विशेषज्ञता उपलब्ध गराउने लक्ष्य बि एण्ड बि अस्पतालले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्