Logo
Logo

जनविद्रोहको धङधङी


पूर्णहरि अमात्य

378
Shares

नेपालका विभिन्न कम्युनिष्ट घटकमध्येका एक क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता सम्मेलनले ७९ वर्षीय मोहन वैद्यलाई सर्वसम्मत महासचिवमा चयन गरेको छ । अचम्म लाग्दो कुरा के छ भने उनको नेतृत्वमा रहेको पार्टीमा अन्य पदाधिकारी रहने छैनन् । स्थायी कमिटी, पोलिटब्यूरो तथा केन्द्रीय समिति मात्र रहने व्यवस्था गरिएको छ ।

जनविद्रोह गर्ने भन्दै २०६९ असारमा माओवादी केन्द्रबाट वैद्य छुट्टिएका थिए । राष्ट्रिय मूलधारको राजनीतिमा समाहित प्रचण्डको नेतृत्वमा रहेको माओवादी केन्द्र र एमालेलाई दक्षिणपन्थी, संशोधनवादी तथा संसदीय यथास्थितिवादीको आरोप उनले लगाएका छन् । त्यसैगरी नेपाली कांग्रेसलाई मुलतः संसद्वादी राजनीति पार्टी हो भन्दै वर्गीय रुपमा कांग्रेसलाई दलाल तथा नोकरशाही पुँजीपति एवं सामन्त वर्गको प्रतिनिधित्व गर्दछ भनिएको छ ।

उक्त पार्टीको दस्तावेजमा नेपाली कांग्रेसको बारेमा थप व्याख्या गर्दै ‘विचाराधारात्मक तथा राजनीतिक रुपमा त्यसले बहुदलवाद, प्रजातान्त्रिक समाजवाद र संसदीय लोकतन्त्रलाई अंगिकार गर्दछ र यसले आफूलाई संसदीय लोकतन्त्रको एकमात्र मसिहा ठान्दछ र संसदवादी यथास्थितिवादको पक्षधर रही पुरानो रैथाने पार्टीको रुपमा रहेको विश्लेषण गरेको छ ।

विसं २००३ सालमा प्यूठानमा जन्मिएका कमरेड वैद्य नेपालमा माक्र्सवादका अग्रणी चिन्तकका रुपमा परिचित छन् । र, उनी जनसंघर्ष तथा जनप्रतिरोध संघर्षका बीचबाट सर्वहारा वर्गको नेतृत्व तथा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको दिशामा अघि बढ्नुपर्छ भन्दै पुनः विद्रोहको नीति अख्तियार गर्ने घोषणा गरेका छन् । उनले एमाले, माओवादी केन्द्रबाट समाजवादी क्रान्ति सम्भव नहुने भन्दै जनविद्रोहको नीति लिने अभिव्यक्ति दिएका छन् ।

उक्त पार्टीले आफ्नो राजनीतिक दस्तावेजमा नेपाल एकातिर दक्षिणपन्थी, संशोधनवादी, संसदीय यथास्थितिवादी शिरोधार्य गर्ने कतिपय पार्टी पनि अस्तित्ववमा रहिआएको जनाएको छ । यस प्रकारका पार्टीमा मुलतः एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी पर्दछन् भन्दै यी सबैले आफूलाई कम्युनिष्ट पार्टी भनेका छन् ।

कमरेड वैद्यले राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धमा सबै संसदवादी दललाई असफल, असक्षम तथा असमर्थ संसदवादी पार्टी भन्दै पुरानो राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको असली पक्षधरका रुपमा आफूलाई पेश गर्दै व्यवस्था होइन, अवस्था फेर्नुपर्छ भन्ने मान्यताका साथ अस्तित्वमा आएको बताएका छन् ।

र, नेत्रविक्रम चन्दको समूहलाई समेत माओवादी कित्तामा नै राखेका छन् । तर, कम्युनिष्ट विचारधारा बोकेका भक्तपुरमा दशकौंदेखि बलियो संगठनको बलमा रहेको नेपाल मजदुर किसान पार्टीप्रति चाहिँ कुनै टिप्पणी गरेका छैनन् ।

कमरेड वैद्य भारतको जेलमा थुनामा रहँदा प्रचण्डले २०६३ मंसिर ५ गते तत्कालीन गिरिजाप्रसाद कोइरालासित शान्ति सम्झौता गरी सशस्त्र संघर्ष त्यागी मुलुकको मूलधारको राजनीतिमा समाहित हुन गरेको प्रयासप्रति असन्तुष्टि व्यक्त गर्दै अझै विद्रोहको सम्भावना देख्दै थिए । र २०६४ साल साउनमा बालाजुमा भएको विस्तारित बैठकमा प्रचण्डविरुद्ध जनविद्रोहको कार्यदिशासहित फरकमत राखे ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा समेत वैद्यले जनविद्रोहको नीति छाडेका छैनन् । क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर जानुपर्छ, क्रान्ति अझै पूरा भएको छैन, जनविद्रोहको बाटोबाट जनवादी सत्ता स्थापित गर्न सकिन्छ भन्ने धारणा उनी राख्छन् ।

उनको एउटा कुराको प्रशंसाचाहिँ गर्नैपर्छ त्यो हो– माओवादी सत्तामा रहँदा कुनै लाभको पद ग्रहण गर्न चाहेनन् । तर उनको जनविद्रोहको सपना साकार हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था के छ भन्नेबारे गम्भीर नभएको छनक पाइन्छ । उनले अहिले पनि माक्र्स, लेनिन र माओले गरेका विचारलाई पछ्याइरहेको पाइन्छ ।

त्यसो त गणतन्त्रको नाममा राजनीतिक बेइमानी, महँगी, बेरोजगारी, भ्रष्टाचार र जलवायु परिवर्तनले आक्रान्त नेपाली समाज हालको अवस्थाबाट मुक्ति पाउन बेलाबेला सडकदेखि सदनसम्म आफ्ना असन्तुष्टिहरु छताछुल्ल भएको छ ।

सामन्तीका नाइके भनिएका राजावादीहरू जसरी पनि हालको लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याएर पुनः राजालाई पुनःस्थापित गर्न सक्रिय रहेको जगजाहेर छ । दक्षिणको छिमेकी भारत घोर दक्षिणपन्थी पुरातनवादी हिन्दू धर्मको आडमा भारतीय शासकहरू नेपालको राजनीतिमा कम्युनिष्टहरूको दबदबा भएको हेर्न चाहँदैनन् ।

मौजुदा नेपालको राजनीतिक प्रणालीको चुनावमा मत दिनेहरू हार्ने र मत पाएर सत्तासिन हुनेहरूको सर्वसत्तावादबाट शासित जनता आर्थिक तथा सामाजिक न्याय नपाएर छटपटाइरहेका छन् । दुई छाक टार्न ५० डिग्रीको तापक्रममा पसिना बगाउने खाडी मुलुकमा कार्यरत नेपाली युवा पिँढीहरू अनि मध्यपूर्वका देशमा घरेलु नोकर भई काम गर्दा त्यहाँ (मध्यपूर्व)का सामन्तहरूको यौन हिंसाबाट पीडित अवला नेपाली चेलीहरूले पठाएको रेमिट्यान्सबाट कतिञ्जेलसम्म अर्थतन्त्र धान्ने हो ।

अनि माक्र्स, लेनिन र माओका विचार भट्याएर नेपाली जनताको जीवनस्तर पक्कै पनि उकासिँदैन, त्यसका लागि त प्रशस्त रोजगारी सिर्जना गरेर मुलुकवासीहरूको सुखमय जीवनचक्र चलाउन आवश्यक पुँजी र प्रविधि चाहिएको छ ।

जापानी र पुर्तगाली उपनिवेशिक दासताबाट एक शताब्दी अपमानको पीडा सहेर जडसूत्रवादी कम्युनिष्ट विचाराधारालाई थाँती राख्दै चीनका नेता देङसियाओ पिङले सन् ८०को प्रारम्भिक कालमा विदेशी पुँजी र प्रविधिलाई भित्र्याएर करोडौं चिनियाँ जनतालाई गरिबीको दुष्चक्रबाट माथि उठाएको उदाहरण विश्वसामु छ । र, चीन अहिले अमेरिका जस्तो एकल विश्वको नेतृत्व गर्ने शक्तिलाई हाँक दिन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्