सनिशा भट्टराईलाई प्रायःले फिल्म ‘१२ गाउँ’की अभिनेत्रीको रुपमा चिन्छन । ‘१२ गाउँ’ सनिशाको डेब्यू फिल्म हो । जुन फिल्म बक्स अफिसमा सफल दरिएको छ । मोडलिङ गर्दागर्दै फिल्मी अभिनयमा डेब्यू गरेकी सनिशालाई धेरैले हिजोआज भन्ने गर्छन्, ‘१२ गाउँ सनिशालाई लोटरी नै परेको हो ।’ उक्त फिल्म हिट भएसँगै सनिशालाई हिजोआज भ्याइनभ्याइ छ । उनी यतिखेर फिल्म ‘नरसिंह’मा व्यस्त छिन् । म्युजिक भिडियोसँगै फिल्मी अभिनयमा व्यस्त रहेकी मोडल तथा अभिनेत्री सनिशा भटराईसँग रेजिना पाण्डेको जम्काभेट :
फिल्म ‘१२ गाउँ’मा अभिनय गरेपछि तपाईँको भाग्य खुलेको हो ?
फिल्मी अभिनयका लागि चाहिँ हो । फिल्ममा अभिनय गर्नुअघि म म्युजिक भिडियोमा व्यस्त थिएँ । तर, फिल्म ‘१२ गाउँ’ सफल भएपछि अहिले फिल्ममा पनि व्यस्त हुन थालेकी छु ।
‘१२ गाउँ’ तपाईँको डेब्यू फिल्म हो, निर्माण भइरहँदा चल्छ जस्तो लागेको थियो ?
एउटा मेकर वा कलाकारले फिल्म चल्छ, दर्शकले मन पराउँछन् भनेर नै बनाउने हो । त्यो फिल्म चल्नु वा नचल्नु आफ्नै ठाउँमा छ । तर, ‘१२ गाउँ’को सन्दर्भमा भन्नुपर्दा त्यो नसोचेको उपलब्धी हो ।
तपाईँलाई दर्शकले ‘१२ गाउँ’ किन रुचाएजस्तो लाग्छ ?
दशर्कले खोजेको स्वाद र राम्रो टिम । त्यसबाहेक फिल्मको कथाबस्तु बलियो भएर हुन सक्छ । राम्रो फिल्म बन्यो भने दर्शक हलसम्म पुग्दारहेछन् भन्ने उदारण हो, १२ गाउँ ।
१२ गाउँले सनिशालाई एकाएक चर्चामा ल्यायो होइन त ?
हो, म स्वीकार्छु । फिल्ममा मेरो कामले चर्चा र प्रशंसा पाएको छ । जुन विश्वासले टिमले मलाई काम गर्ने अवसर दियो, मैले पनि काम देखाउने अवसर पाएँ । टिमको विश्वास जितेरै त्यो स्थान पाएँजस्तो मलाई लाग्छ ।
उक्त फिल्ममा तपाईँको को–स्टार समिर भट्ट रियलमा चाहिँ तपाइँलाई कस्तो लाग्छ ?
हाम्रो फिल्म क्षेत्रले खोजेको नायक समिरजी हो नै । तर, क्यामराबाहिर पनि उनी राम्रो मान्छे हुन् । सबैलाई सहयोग गरौँ, मिलेर काम गरौँ भन्ने मिलनसार व्यक्तित्व लाग्छ ।
‘१२ गाउँ’जस्तै ‘नरसिङ’ पनि सफल हुन्छ त ?
मलाई आशा छ फिल्म ‘नरसिंह’ पनि दर्शकले मन पराउनेछन् । यो फिल्ममा ‘१२ गाउँ’ भन्दा पनि अझ राम्रो हुन्छ भन्ने मलाई लागेको छ । ‘नरसिङ’मा मेरो क्यारेक्टर एकदमै राम्रो छ । यो फिल्म महिला क्यारेक्टरवेशमा छ । साथै, मेरो क्यारेक्टर अझ निखारिएको छ । यो फिल्ममा मैले लेजेण्ड अभिनेता राजेश हमालसँग स्क्रिन शेयर गर्ने अवसर पाएकी छु ।
राजेश हमालसँग काम गर्दाका अनुभव कस्तो रह्यो ?
उहाँसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाएँ । सुरुमा अलिकति डर भए पनि काम गर्दै जाँदा उहाँबाट साथ र हौसला पाएँ । सबैभन्दा ठ्ुलो कुरा मेरो कामलाई मनपराएर साथ र स्पोर्ट दिनुभएको छ, खुशी लाग्छ ।
म्युजिक भिडियोदेखि फिल्मी अभिनयसम्म आइपुग्दाका कतिको संघर्ष गर्नुप¥यो ?
संघर्ष र मिहेनत धेरै गरेकी छु । म काठमाडौं बाहिरकी मान्छे हुँ । तर, कामको सिलसिलामा काठमाडौं आउने–जाने गर्छु । डेढ वर्षदेखि यही क्षेत्रमा काम गरिरहेको छु, सिकिरहेको छु । अझै सिक्ने क्रममै छु ।
फिल्म क्षेत्रमा भविष्य देख्नुहुन्छ ?
सबैले आ–आफनो ठाउँबाट मुल्याङ्कन गरिदिनुभएको छ । खुशी लाग्छ । सायद मेरो काम राम्रो देखेरै होला्, मुल्याङ्कन पनि राम्रै गरेको हुनुपर्छ । फिल्म क्षेत्रका व्यक्तिहरूको मूल्यांकन तथा अहिले दर्शकको साथ र माया पाएको देख्दा यो क्षेत्रमा भविष्य छ जस्तो लाग्छ ।
तपाईँ लक्की अभिनेत्री हो ?
भगवानको आर्शीवाद, बाबा, ममीको हौसला र फिल्म मेकरहरूले विश्वासले राम्रो काम गर्ने अवसर जुटाइदिनु भएको छ । यसैले पनि म आफूलाई लक्की नै सम्झन्छु ।
फुर्सदमा के गर्न मनपर्छ ?
आई लभ कुकिङ । म सकभर फुर्सद भएको खण्डमा भान्सामै रमाउँछु । त्यसबाहेक साहित्यिक पुस्तकहरू पढ्न रुचाउँछु । मलाई नाच्न र घुम्न पनि मनपर्छ । तर, मलाई प्रायः घरपरिवारसँगै रमाउन मन लाग्छ ।
यदि, फिल्मी क्षेत्र छाड्ने अवस्था आयो भने के गर्नुहुन्छ ?
म विजनेश परिवारको छोरी हुँ । विजनेशमा मलाई राम्रो ज्ञान छ । साथै, मलाई एकै क्षेत्रमा भर पर्न पनि मन पदैन । त्यसैले विजनेश गर्छु ।
म्युजिक भिडियो र फिल्मी अभिनयमा के भिन्न लाग्छ ?
मिहेनत दुवैमा उत्तिनै हुन्छ । म्युजिक भिडियो गर्दा कम समय लाग्छ, रिजल्ट चाँडै आउँछ । तर, फिल्म गर्दा समय धेरै लाग्छ र रिजल्ट पनि ढिलै आउँछ । तर, काम एउटै हो ।
यस क्षेत्रमा लागेपछि आफूमा के परिवर्तन पाउनुभयो ?
पहिले घरभित्रकी सनिशा थिएँ । तर, अहिले दर्शकको मन–मुटुमा बस्न सफल भएकी छु । दर्शकको माया र हौसला पाएकी छु । मलाई यसरी नै सधैँ माया र साथ दिनुहोला ।