धनगढी । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै असमझदारी नभएको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्वारा आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले यस्तो दावी गरेका हुन् ।
उनले देउवा सबैका साझा सभापति भएकाले कुनै विवाद नभएको जिकिर गरे । नेता कोइरालाले देउवासँग संवाद र निरन्तर छलफल भइरहेको समेत बताए ।
साथै वर्तामान सरकारलाई असफल हुने छुट नभएको पनि उनले बताए । विशेष परिस्थितिमा ठूला दुई दल मिलेर गठन भएकाले जुनसुकै परिस्थितिमा सरकार अघि बढ्नुपर्नेमा उनको भनाइ छ ।
उनले भने, ‘सरकारलाई असफल हुने छुट छैन । सरकारले जुन म्यान्डेट लिएर आएको छ । राजनीतिक, आर्थिक र राजनीतिक अवस्थालाई बलियो बनाउनुपर्दछ ।’ उनल ेसरकारले विकास र सुशानका विषयलाई सँगसँगै अघि लैजानुपर्ने बताए ।