काठमाडौं । भैसैपाटी हनी ट्रयाप प्रकरणमा फरार रहेकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही अदालत उपस्थित भएकी छिन् ।
युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको आरोपमा फरार रहेकी उनी आज (आइतबार) जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी हुन् ।
न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको पेशी चढेको छ । अदालत उपस्थित भएकी शाहीको बयान सकिएपछि बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ ।
यसअघि इन्सपेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाउँदै आपरापधिक लाभ र संगठित अपराधको कसुरमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । १३ मंसिरमा न्यायाधीश टेकराज जोशीको इजलासले घटनाको मुख्य योजनाकार ताज इस्लामलाई थुनामा पठाइसकेको छ ।
त्यसैगरी अर्का प्रतिवादी भीमादेवीलाई २ लाख र सुस्मा विकलाई जनही क्रमशः २ लाख र १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अर्का प्रतिवादी प्रहरी सहायक हवल्दार महेन्द्र हमालले भने साधारण तारेखमा छाड्ने आदेश भएको थियो ।
घटनामा प्रतिवादी बनाइएका प्रहरी प्रभाग भैंसेपाटीका तत्कालीन इन्सपेक्टर शाही र सुनसरीका दर्शन पोखरेल भने फरार थिए । करिब एक महिनापछि शाही भने अदालतमा आफैं उपस्थित भएकी हुन् ।