काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ ।
यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरू चाल्ने बताइएको छ । अष्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागको समर्थन प्राप्त यस साझेदारीले वित्तीय सुरक्षा सुधार र समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउनेछ । पति-पत्नि, वृद्व आफन्त वा घरपरिवारका अन्य सदस्यहरुमाथि नियन्त्रण जमाउदैँ हुने वित्तीय स्रोतहरूको दुरुपयोग वित्तीय दुरुपयोग हो ।
यसमा परिवारका सदस्यहरुको बैंक खाता र कर्जा जस्ता वित्तीय साधनहरुको दुरूपयोग जस्तै, आफ्नो बैंक खाता आफ्नो नभई अरुको नियन्त्रणमा हुनु, वित्तीय संस्थाहरु बाट आफ्नो लागि नभई अरुका लागि ॠण लिन बाध्य बनाइनु जस्ता कृयाकलापहरु पर्दछन् ।
यसले वित्तीय समावेशीकरणका प्रयासलाई कमजोर बनाउनुका साथै वित्तीय नोक्सान, क्रेडिट रेटिंग तथा प्रतिष्ठानमा नकारात्मक असर र वित्तीय संस्थाप्रतिको विश्वासको संकट निम्त्याउने जस्ता गम्भीर प्रभाव पार्न पनि सक्छ ।
‘एम्पावर फाइनान्स एलायन्स’मार्फत अन्तर्राष्ट्रिय वित्त निगमले लक्ष्मी सनराइज बैंकलाई सुरक्षित बैंकिङ सेवाहरू विकास गर्न आवश्यक मार्गनिर्देशन दिनेछ । यसले बैंकलाई वित्तीय दुरुपयोग रोकथाम र समाधानमा आफ्नो भूमिका परिभाषित गर्न र कार्यान्वयनको अवस्था जानकारीका लागि आन्तरिक परीक्षण गर्न सहयोग पुर्याउनेछ ।