Logo
Logo

ईभीको प्रयोग र लोकप्रियता बढ्दो, ५ महिनामा ११ अर्ब बढीको आयात


252
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ५ महिनामा ११ अर्ब बढीको विद्युतीय सवारी (ईभी) आयात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि मंसिर मसान्तसम्म ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बढीको ४ हजार ६९७ वटा कार, जीप र भ्यान आयात भएको हो ।

उक्त सवारीहरू आयातबाट सरकारले ६ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन् । कुल आयातको ७६।४१ प्रतिशत ईभी चीनबाट आयात भएका हुन् ।

चीनबाट ५० किलोवाटभन्दा कम क्षमताका ८५४ वटा, ५१ देखि १०० किलोवाट क्षमताका २ हजार २९७ वटा, १०१ देखि २०० किलोवाटका ४६० वटा, २०१ देखि ३०० किलोवाट क्षमताका ३ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएका २ वाटा ईभी आयात भएका छन् । चीनबाट कुल ३ हजार ५८९ वटा इभी आयात भएका हुन् ।

यसैगरी, भारतबाट १ हजार ९६ वटा ईभी आयात भएका छन् । जसमध्ये ५० किलोवाटसम्मका ६३६ वटा र ५१ देखि १०० किलोवाटसम्मका ४६० वटा ईभी भारतबाट आयात भएका छन् ।

जर्मनीबाट १०१ किलोवाट देखि २०० किलोवाटसम्मका ७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका २ वटा गरी कुल ९ वटा ईभी आयात भएका छन् भने अमेरिकाबाट १०१ देखि २०० किलोवाट क्षमता भएका १ वटा र सोहि क्षमता भएको १ वटा ईभी दक्षिण कोरियाबाट आयात भएका छन् ।

प्रतिक्रिया दिनुहोस्