काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।
बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका मेयर पुष्प वादीलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेका हुन् ।
अस्थायी आवास हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैं प्रतिबद्ध रहेको बताए । प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो परियोजना अघि बढाएको उनले बताए ।
नबिलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्थायी आवास निर्माण गरेको हो ।
बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका- १ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका- १ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।