Logo
Logo

सशस्त्र प्रहरीको पेट्रोल पम्पमा ठगी


14k
Shares

काठमाडौं । पेट्रोल पम्पमा ठगी हुने गरेको नयाँ होइन । नाप तौल तथा गुणस्तर विभाग र नेपाल आयल निगमकै मिलेमतोमा कतिपय पेट्रोल पम्पले ठगी गरेका समाचार बाहिर आउने गरेका छन् । स्वचालित मेसिनमा डिभाइस राखेर ठगी गरेको आरोपमा केही वर्ष अघि पेट्रोलपम्पहरु कारवाहीमा परेका थिए ।

अहिले सशस्त्र प्रहरीले सञ्चालन गरेको हल्चोकसिथत पेट्रोल पम्पको विषय पनि गुनासो आउन थालेको छ । सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्पबाट कम परिमाणमा पेट्रोल बेचेको भन्दै प्रहरी मुख्यालयमा उजुरी परेको छ ।

सशस्त्र प्रहरीले मुख्यालयमा सञ्चालन गरिएको पम्पबाट पेट्रोल र डिजेल दुवै कम परिमाणमा बिक्री भएको भन्दै उपभोक्ताहरु सशस्त्र प्रहरी मूख्यालयमा गुनासो गरेका हुन् । उनीहरुले मुख्यालयबाट कारवाही नभए हेलो सरकार र गृह मन्त्रालयमा उजुरी गर्ने जनाएका छन् । ‘हेलो सरकार र गृहमन्त्रालयमा पनि यो विषयमा उजुरी गनुपर्ने देखिन्छ, सुरक्षा निकायले सञ्चालन गरेको पम्प नैविश्वासिलो भएन’, एक उपभोक्ताले भने ।

उनका अनुसार एक हजार र पाँच सय र एक हजार दुई सय रुपैयाको तेल भर्दा कम परिणाम जाने गरेको र हावा भरिने गरेकाले गुनासो उजुरी गर्नुपरेको हो । ‘एक दुई अंक नै कम हुने गरेको छ यो सामान्य विषय होइन’, उनले भने ।

सशस्त्र प्रहरीको कल्याणकारी कोषबाट सञ्चालित भएको सो पेट्रोलपम्पको रेखदेख इन्स्पेक्टर बैकुण्ठ घिमिरेले गरिरहेका छन् । त्यसको अनुगमन मुख्यालयमा डिएसपी महेन्द्र हमालले गरेका छन् । तीन महिनायता लगातार रुपमा मुख्यालयमा यस्तो गुनासो गरिएको तर मुख्यालयले वास्ता नगरेपछि आयल निगम कार्यालयमा समेत उजुरी गरेको एक महिलाले बताइन । साथै केही दिन अघि एउटा गाडीले ४५ लिटर तेल राखेकोमा ४३ लिटर मात्रै भएको भन्दै उजुरी परेको छ ।

सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पमा पटक पटक गुनासो आउने गरेको छ । तर गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोल पम्पहरूको अनुगमनमा गरिएको थियो । त्यसमा ¥यापिड रेस्पोन्स टिमको टोलीले मूल्यभन्दा कम परिमाणमा पेट्रोल बेचेको पाइएपछि सशस्त्र प्रहरीको पम्प पनि सिलबन्दी गरिएको थियो । त्यतिबेला आयल निगमले सो पम्पलाई जरिवाना समेत गरेको थियो ।

सशस्त्र प्रहरी स्रोतका अनुसार २० वर्षदखि एकै ठाउँ रहेका लेखापाल लक्ष्मण पौडेलको मिलेमतोमा पेट्रोल पम्पमा अनियमितता हुने गरेको छ । उनी केन्द्रीय लेखा र पम्पभन्दा बाहिर गएका छैनन । सुरक्षा निकायकै पम्पबाट यसरी कम परिणामको पेट्रोल वितरण हुन थालेपछि सर्वसाधरणले कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहोस्