Logo
Logo

प्रहरीलाई आइजीको कडा चेतावनी


22.6k
Shares

काठमाडौं । नेपाल प्रहरीको एसएसपी बढुवामा चरम राजनीति भैरहेको छ । एसएसपीको बढुवा तयारी भैरहेका बेला त्यसलाई रोकेर गृहमन्त्री रमेश लेखक एआइजीको भीड जम्मा गर्न लागेका छन् । २०५१ र ०५२ का प्रहरी निरीक्षक सबैलाई एआइजी बनाएर पठाउने अभियान नै सञ्चालन गरिएको छ ।

एसएसपी, एसपी, डिएसपी र इन्स्पेक्टर लगायत माथिल्लो तहमा करिब २ सय हाराहारीको बढुवा रोकेर गृहमन्त्री दुईदिने एआइजी बढुवा गर्न फाइल च्यापेर मन्त्रिपरिषद पुग्ने गरेका छन् । सानो संख्यालाई बढुवा गरेर केही सीमित व्यक्तिहरू खुशी पार्न लागेका गृहमन्त्रीले ठुलो संख्याको वृत्ति विकासमा बाध उत्पन्न गराएका छन् ।

एसएसपी, एसपी, डिएसपी बढुवा चाहिँ रोक्ने तर दुईदिने एआइजी, डिआइजी बनाएर उनले ठुलो संख्यालाई अन्याय गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा असन्तुष्टि बढेको छ । अहिले नेपाल प्रहरीमा २० एसएसपीको दरबन्दी रिक्त भैसकेको छ । उनीहरू गत भदौदेखि बढुवा हुन सकेका छैनन । साथै, एसपी, डिएसपी र इन्स्पेक्टरको बढुवा हुने संख्या पनि ठूलो रहेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूको वृत्ति विकासमा ध्यान दिनुपर्नेमा आइजीपीले समेत यसलाई अगाडि बढाउन नसकेको गुनासो प्रहरी अधिकृतहरूले गर्न थालेका छन् ।

तर प्रहरी प्रधान कार्यालयले बढुवाको सिफारिस नै नभई राजनीतिक लविङ गरेको भन्दै पन्छिन खोजेर कारबाहीको चेतावनी दिएर बसेको छ । कार्यालयले राजनीतिक लविङ गरेमा बढुवा रोकिने चेतावनीसहितको सर्कुलर गरेको छ ।

प्रहरी कर्मचारीमा बाह्य दबाब र प्रभाव बढेको भन्दै प्रहरी प्रधान कार्यालयले यस्तो सर्कुलर गरेको हो । शक्तिकेन्द्रको आडमा दबाब दिँदै बढुवा हुने चलन प्रहरीमा ब्याप्त रहेकाले पछिल्लो समय प्रहरीभित्र रहेको रिक्त पदमा बढुवा हुन सकिरहेको छैन ।

यस्तो अवस्थामा एसएसपी बढुवामा धेरै दबाब आएकोले सर्कुलर गर्नुपरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दबाब थेग्न नसकेपछि प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले शक्ति केन्द्रमार्फत भनसुन गराउने प्रहरी अधिकृतलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

नेपाल प्रहरीका केही अधिकारीहरू ‘चेन अफ कमाण्ड’ उल्लंघन गरेर व्यक्तिगत स्वार्थमा नेताको चाकडी गर्न लागेपछि आइजीपी कुँवरले कडा चेतावनी दिँदै कारबाही गर्ने सर्कुलर जारी गरेको पाइएको छ । प्रहरी महानिरीक्षकको सचिवालयबाट जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कडा कारबाही गर्ने भनिएको छ ।

व्यक्तिगत स्वार्थपूर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहने गरी भएका गैरव्यवसायिक क्रियाकलापहरू प्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयबाट जारी भएको सर्कुलरमा उल्लेख गरिएको छ । त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी आइजीपी कुँवरले दिएका छन् ।

कतिपय बदनाम प्रहरी अधिकारीले उच्च तहका नेताबाट निरन्तर दबाब दिएपछि यस्तो परिपत्र जारी भएको स्रोतले जनाएको छ । पछिल्लो समय प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) बढुवामा आईजीपी कुँवरले राजनीतिक दबाब झेलिरहेको बताइएको छ ।

त्यस्तै आकर्षक ठाउँको लागि सरुवामा दबाब दिने प्रहरी अधिकृतको समेत रेकर्ड राखेर कारबाही गर्ने प्रधान कार्यालयको तयारी छ । सोहीअनुरुप प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्ता सरुवाहरूलाई रेकर्ड (अभिलेख)मा राखेर मुल्याङ्कन गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्