Logo
Logo

सीमामा आइजी अर्यालको ध्यान


13.3k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका आइजी राजु अर्यालले सीमा क्षेत्रको तस्करी रोक्न वर्षौँदेखि प्रयास गरेको भए पनि नियन्त्रणमा हुन सकेको छैन । आइजी अर्यालले एक दर्जन अधिकृतलाई मुख्यालयमा तानेर कारबाहीको तयारी गरेको बेला सीमा क्षेत्रमा विशेष निगरानी बढाएको छ ।

धनुषाबाट एसपी दर्शन गिरीसहित कपिलवस्तु कृष्णनगर बिओपीका प्रमुख डिएसपी शैलेन्द्र न्यौपाने, कपिलवस्तु चाकरचौडाका जयराम बस्नेत, मटिहर्वा बाराका विदुर भट्टराईलाई मुख्यालय तानेर कारबाहीको प्रकृया शुरु गरिएको बेला सीमा क्षेत्रमा आइजी अर्यालले विशेष निगरानी बढाएका हुन् ।

कपलिवस्तुमा कृष्णनगर, भिल्मी, डालपुर, जवाबैराठ, हर्दाैना लगायतका बिओपी छन्, तर खुला सीमा हुँदै भारतबाट भित्रिने अवैध मालसमान रोक्न सकिएको छैन । कपडा, मोटरपार्टस, खाद्यान्न, सेतो अण्डा, माछा, जुत्ता चप्पल,ओैषधि लागुऔषध लगायतका सामान भित्रिदै आएको छ ।

कहिलेकाहीँ सशस्त्र प्रहरीले तस्करीको मालसमान समाते पनि तस्कर र वास्तविक व्यवसायीलाई समातेको छैन । कपिलवस्तुमा एसपी रामजंग पाण्डे रहेका छन् । सीमा क्षेत्रको सुरक्षा र तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीकै मिलेमतोमा जिल्लामा तस्करी बढेको हो ।

सीमा क्षेत्रमा रहेका बीओपीहरूले एसपी पाण्डेको मौन स्वीकृतिमा अवैध रकम संकलन गरिरहेकाले उनको पनि गतिविधिबारे मुख्यालयले निगरानी राखेको हो ।

सीमा नाकाबाट दिउँसै लाखौं रूपैयाँका सामानहरू अवैधरूपमा भित्रिने गरेको छ । तर सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन छन् । तस्करहरूले बीओपीमार्फत् सशस्त्र प्रहरी उपरीक्षकसम्म रकम खुवाएका कारण सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीहरू मौन बस्ने गरेको स्रोतको दाबी छ । सीमा नाकाबाट कपडा, खाद्यान्न, मेशिनरी पार्ट्स, खसी–बोका, चप्पललगायतका सामाग्रीहरू तस्करी हुने गरेको छ । तर यहाँ खटिएका सशस्त्र प्रहरीहरू कमाउ धन्दामा लागेका छन् ।

जिल्लाको कृष्णनगर पश्चिमका सीमा नाका, कृष्णनगर आसपास, कुशहवा बढनी, मर्यादपुर, रंगपुर, चाकरचौडा लगायतका सीमा नाकामा तस्करीका घटना बढेका छन् ।

नेपाल–भारत खुला सिमानाको फाइदा उठाउदै कृष्णनगर, बहादुरगंज, महराजगंज, चन्द्रौटा लगायतका नजिकका ठुला व्यापारीको संरक्षणमा दर्जनौँ क्यारियरहरू ओसारपसार गर्ने गरेका छन भने प्रहरी चौकी र बिओपीहरू तस्करी नियन्त्रण गर्न असमर्थ रहेकै कारण त्यहाँबाट दुई डिएसपीलाई तानेर कारबाही शुरु गरिएको स्रोतको दाबी छ ।

नवराजपुर बिओपी सिराहका इन्स्पेक्टर रोशन थापालाई पनि सशस्त्र मुख्यालयले तानेर कारबाही अघि बढाएको छ । सिराहका एसपी नरेश भण्डारीकै सहमतिमा थापाले तस्करीको सामान छुटाउने गरेको उजुरी मुख्यालयमा परेको थियो । डिआइजी शम्भु सुवेदीको निर्देशनमा बीओपी अमडुवाका सुनसरीका इन्स्पेक्टर प्रकाशविक्रम कार्कीले तस्करीलाई प्रश्रय दिएको उजुरी मुख्यालयमा परेको थियो । सोही आधारमा कार्कीलाई तानेर कारबाही थालिएको छ ।

सुनसरी जिल्लामा एसपी सम्मेनन्द बज्रचार्यले कमाण्ड गरिरेहका छन् । मोरङस्थित नोचा बिओपी जयबहादुर दथेकुथेलाई पनि डिआइजी सुवेदीकै आसिरवाद रहेको स्रोतको दाबी छ । तर डिआइजी सुवेदीबारे सशस्त्र प्रहरी मुख्यालय मौन रहेको छ । इन्स्पेक्टर दथेकुथेलाई पनि तानेर कारबाहीको तयारी थालेको छ । धनुषा ८ नं गण मातहतका बिओपीमा फूलगाभामा कार्यरत गणेश बोहोरा समसिओपी महोत्तरीका कृष्ण गुरुङलाई तानेर सीमा सुरक्षा विभागमा हाजिर गराइएको छ ।

महोत्तरीमा विनोद केसी एसपी रहेका छन् । उनी तस्करी नियन्त्रणमा मौन रहेको स्रोतले जनाएको छ । महोत्तरीबाट विषेशगरी कुखुरा र कुखुराको मासु तस्करी हुने गरेको छ । त्यसका अतिरिक्त चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, मैदा र सुर्तीजन्य पदार्थको पनि तस्करी हुने गरेको छ । नेपालतर्फबाट भने मदिरा, चाइनिज स्याउ र सुपारी तस्करी हुने गरेको पाइन्छ ।

धुनषाका एसपी दर्शन गिरीकै निर्देशनमा बोहोराले सीमा क्षेत्रबाट कुखुरा लगायतका सामाग्रीहरु तस्करीमा सहयोग गरेका थिए । गिरीलाई पनि दोस्रो पटक मुख्यालयले सोधपुछ गरेको थियो । उनलाई पनि कारबाहीको तयारी भैरहेको छ । कारबाही रोक्न विभिन्न शक्ति केन्द्र धाइरहेको स्रोतले जनाएको छ ।

पछिल्लो समय बारा जिल्लाबाट व्यापक रूपमा तस्करी भइरहेको छ । यहाँका मटिअर्वा, जितपुर, बसतपुर, तिलकुवा, कचोरवा, गोलागंज, खजानी, पथलवाघाट, सिम्रौनगढ र क्वहीगोठबाट बढी तस्करी भइरहेको छ । ‘मधेस प्रदेशका ८ वटै जिल्लामा भारतबाट खुलेआम तस्करी भइरहेको छ । फरक यति छ कि कहीँ कम छ भने कहीँ बढी तस्करी हुन्छ’, स्रोतले भन्यो । यसैगरी झापाबाट सई खेम कटुवाललाई झापाको टिरिङ्गाबाट तानेर कारबाहीको तयारी थालिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्