काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा चरम बेथिति बढेको भन्दै एकातिर अस्पतालका डाक्टर कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् भने अर्कोतिर उज्जल चालिसेकोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नबौ तहका डाक्टर चालिसे वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलनिकट व्यक्ति भएका कारण मन्त्री पौडेल स्वयंले उनको पक्षपोषण गरिरहेका छन् ।
मन्त्री पौडेललाई खुसी पार्न चालिसेले जथाभावी कर्मचारी भर्ना गरेर अस्पताललाई आर्थिक बोझ थोपरेपछि अस्पतालका कर्मचारीहरू रुष्ट बनेका हुन् । २०७७ कात्तिक २३ गतेदेखि स्वास्थ्य मन्त्रालयमातहत आएको उक्त अस्पताललाई मन्त्रालयले उपकरण खरिद गर्ने बाहेकको बजेट दिएको छैन । कर्मचारीको तलब आफ्नै स्रोतले खुवाउनुपर्छ । जसका कारण चिकित्सक र कर्मचारीलाई तलव खुवाउनसमेत धौधौ परेको छ ।
राजनीतिक नियुक्तिको चरम चपेटामा परेको क्यान्सर अस्पतालमा अहिले विरामीहरु सहज उपचार नपाएर छटपटिरहेका छन् । त्यसका साथै विगत २६ वर्षदेखि नेपाल अर्बुद रोग निवारण संस्थाद्वारा स्थापना तथा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमा हाल आएर राजनीतिक नियुक्तिले अनियमितता तथा बेथितिको चाङ लाग्दै आएपछि अख्तियारले समेत उजुरीमा छानबिन गरिरहेको छ ।
सरकारी अस्पतालभित्रै सिटिस्क्यान निजी कम्पनीले सञ्चालन गरिरहेको छ । सर्वसाधारणको हितमा खुलेको सो अस्पतालमा प्राइभेट ल्याब विगत नौ वर्षदेखि चलिरहेको छ । बिरामीले ल्याब जाँच गरेबापत लिने शुल्कको ७० प्रतिशत रकम निजी ल्याबलाई दिने गरिएको छ ।
सरकारी अस्पतालको फार्मेसीविना टेन्डर वर्षौदेखि अनियमितता गरिँदै कुनै निश्चित कम्पनीलाई मात्र फाइदा पुग्ने र बिरामीलाई मर्का पर्ने काम जारी हुँदा पनि नियामक निकायको ध्यान नपुगेको कारण अख्तियार धाउनु परेको गुनासो छ ।
साथै, ल्याब टेष्टका लागि उपकरण भएपनि निजीमा पठाउने गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्दैशक रहेका डा. चालिसे नै नीजि क्षेत्रका औषधि आपूर्तिकर्तासँग बसेर राती मदिरासमेत सेवन गर्ने गरेको स्रोतको दाबी छ ।
कन्फर्म कार्यकारी निर्देशकका रुपमा रहेका डा. ऋषिकेशनारायण श्रेष्ठ उमेरहदका कारण अवकाश भएपछि चालिसेले निमित्त पाएका थिए । अहिले अस्पतालभित्र डा. चालिसेको अतिरिक्त रमेक प्याजु र जगन्नाथ भूर्तेलको हालीमुहाली चल्ने गरेको छ ।
कुनै पनि कर्मचारीलाई निमित्त प्रमुख दिँदा तीन महिनाका लागि दिइन्छ । तर, राजधानीकै मुटु भक्तपुरमा रहेको केन्द्रीय अस्पताल जस्तो निकाय अहिले पनि निमित्तकै भरमा सञ्चालन भइरहेको छ । स्रोतका अनुसार कास्की घर भएका चालिसे वर्तमान स्वास्थ्यमन्त्री प्रदीप पौडेलका सहपाठी हुन् । सहपाठी भएकै कारण मन्त्री पौडेलले अन्य अस्पताल र निकायमा कर्मचारीको सरुवा गर्दा उनलाई यथावत राखेका छन् ।
भक्तपुर क्यान्सर अस्पताल संचालन गठन आदेशमा ११ तहको कर्मचारी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुने ब्यवस्था छ । क्यान्सर अस्पतालमा कार्यरत नभए नेपालका ११ तहमा कार्यरत जुनसुकै अस्पतालका कर्मचारीलाई कार्यकारी निर्देशक बनाउन सकिने प्रावधान छ । स्वास्थ्य क्षेत्रको सुधारको नारा लगाउदै आएका मन्त्री प्रदीप पौडेलले निमित्तकै भरमा अस्पताल सञ्चालन गरिहेका छन् ।
डा. चालिसेलाई त्यहाँ राख्नुमा मन्त्रीका आफन्तहरूलाई जागिर दिनु पनि रहेको स्रोतको दावी छ । हालैमात्र मन्त्री पौडेलले डा. सोविता वाँनियालाई नियुक्ति दिएका छन् भने मन्त्रीकै आदेशमा केही महिना अगाडि मनिष ठाकुरलाई रेडियोलोजिष्ट नियुक्त गरेका छन् ।
पदपूर्ति समितिलाई जानकारी नदिइ जथाभावी करारका कर्मचारी भर्ना गरिएपछि चिकित्सक र कर्मचारीहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । मन्त्री पौडेल स्वयंले आफन्तलाई जागिर खुवाउन दबाब दिएपछि मन्त्री पौडेलसँग पनि कर्मचारीहरू रुष्ट भएका छन् । अस्पतालका प्रशासकीय प्रमुख राजाराम तलेजु र लेखा शाखाका कर्मचारीहरुले डा. चालिसेलाई साथ दिइरहेको स्रोतको दावी छ ।
सम्पादकीय नोटः यसअघि ‘एनएमसी पास नगरेका मनिष ठाकुर’ भनेर गएकोमा सच्याइएकाे छ ।