Logo
Logo

चार डिआइजीको म्याद थप्ने तयारी


18k
Shares

काठमाडौं । सशस्त्र प्रहरीका चार डिआइजीहरूको एक वर्ष म्याद थप्ने प्रस्ताव गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गत साता नै गृह मन्त्रालयमा म्याद थपको प्रस्ताव लगेका थिए । अहिले सो प्रस्ताव मन्त्रिपरिषदमा पुगिसकेको छ । सशस्त्र प्रहरीका डिआइजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीको म्याद थप लागि मन्त्रिपरिषदमा प्रस्ताव गएको हो । आउदो मन्त्रिपरिषदबाट उनीहरूको म्याद एक वर्ष थपिने बताइएको छ ।

उनीहरूमध्ये सुवेदी आइजीपी राजु अर्यालका ब्याची भएकाले एक वर्षभित्रै घर जाने छन् भने त्यसमध्येका गिरी, ठाडामगर र नेम्वाङ भने संगठन प्रमुखको रुपमा दावेदार हुनेछन् । उनीहरू राजनीतिक शक्तिमा कमजोर छैनन । यसपल्ट म्याद थप्न भने गिरीभन्दा ठाडामगर अलि बढी नै दौडधुप गरिरहेका थिए । उनी मकवानपुरमा भए पनि काठमाडौं आउजाउ बाक्लो थियो । गिरी भने चुपचाप नै बसेका थिए ।

सशस्त्र प्रहरी मुख्यालयले चारजनाकै म्याद थपका लागि गृह मन्त्रालय पठाएपछि गृहसचिव गोकर्णमणि दुवाडीले त्यसलाई निर्णयार्थ गृहमन्त्री रमेश लेखकलाई बुझाएको र लेखकले मन्त्रिपरिषदमा लैजाने तयारी गरिरहेको स्रोतले दृष्टिलाई बतायो ।

संगठनमा भावी प्रमुखको दाबेदारका रुपमा म्याद थप हुन लागेका डिआइजी ठाडामगर भने संगठनभित्र त्यति रुचाइएका पात्र होइनन । उनको कारणले केही कर्मचारीहरूको वृत्ति विकास रोकिएको र केहीको झण्डै जागिर गएकाले उनीहरूले ठाडामगरको स्वभावलाई सकारात्मक मानेका छैनन । उनले डिआइजी बढुवा हुनअघि सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा कारबाहीसमेत भोगेका थिए ।

पाँच वर्षअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्टुनसहितको तस्बिर राखेर पोस्ट गरेका थिए । त्यसपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । त्यसभन्दा अघि उनले पूर्वराजा ज्ञानेन्द्रका बारेमा समेत सामाजिक सञ्जालमा स्टाटस लेखेका कारण उनलाई संगठनभित्र सकारात्मक मानेका छैनन् ।

त्यतिबेला ठाडामगरले पूर्वराजा शाहका बारेमा लखेका थिए, ‘छँदाखाँदाको सत्ता जोगाउन नसक्नेले अहिले गोरुको झर्ला र खाउँला भनेर आशमा बस्नु मनको लड्डु घ्यूसँग’ भनेर लेखेका थिए । उता उनीहरुको म्याद थप रोक्न भनेर अञ्जनीकुमार पोखरेल लागिपरेका थिए । उनले विभिन्न शक्तिकेन्द्रलाई प्रयोग गर्नका लागि केही आफू निकटका साथीहरुलाई लगाए पनि सफल हुने अवस्था रहेन ।

उनीहरुलाई म्याद थप नगरेमा आफू चाडै नै आइजीपी हुने लालसाले म्याद थप रोक्न लागिपरेको स्रोतको दावी छ । राजु अर्यालपछि नारायणदत्त पौडेल, त्यसपछि वंशी दाहाल र त्यसपछि अहिले म्याद थप हुने टोलीले सशस्त्र प्रहरीको कमाण्ड गर्नेछ । तर गिरी, ठाडामगर र नेम्वाङको म्याद नथपिएमा पोखरेलका व्याचीहरू अगाडि आउनेछन् ।

यद्यपि संगठनमा पोखरेलभन्दा पनि काविल अफिसर भएकाले उनै आइजीपी हुन्छन भन्ने अहिलेसम्म सुनिश्चित छैन । तर, पोखरेलले भने आफुलाई भावी आइजीपीको दाबी गर्दै हिडेका छन् । पोखरेललाई संगठनभित्र पुलिसिङमा निकै कमजोर मानिन्छ । पोखरेलमाथि फिल्डमा नबसेको बसेपनि त्यहाँ रहेका अधिकृतहरुलाई हप्कीदप्की गरेको आरोप लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्