Logo
Logo

थोत्रा भ्यान दौडाउँदै, उद्योगी तर्साउँदै खाद्य प्रविधिका डीजी


1.4k
Shares

काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागको महानिर्देशक संजीवकुमार कर्णलाई निरन्तरता दिने तयारीमा कृषि तथा पशुपंछी मन्त्रालय छ ।

कृषिमन्त्री रामनाथ अधिकारी र खाद्य प्रबिधिका डीजी संजीव कर्ण

तीन महिने काजमा विभागको नेतृत्वको जिम्मा पाएका कर्णको सो अवधि सकिएपछि कन्फर्म महानिर्देशक बनाउन लागिएको स्रोतले बताएको छ । विभागको नेतृत्व सम्हालेपछि उद्योगीसँग मन्त्रीलाई महानिर्देशक बनाएबापत रकम बुझाउनु छ भनेर उठन्ती अभियान चलाएका कर्णले कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्माको समेत बदनाम गर्दैआएका छन् ।

उद्योगीहरुलाई कार्यकक्षमा बोलाउँदै तोकेरै सहयोग माग्ने र नदिए फाइल अड्काउने, अनुगमनमा पठाउने र अनावश्यक दुःख दिने त्रास सृजना गर्दै बिभागमा आतंक सृजना गर्दा पनि कृषि तथा पशुपंछी मन्त्री रामनाथ अधिकारी रमिते बनेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रयोगशाला भ्यान खरिदमा २४ करोड भ्रष्टाचारको मुद्दा दर्ता गरे पनि विशेष अदालतमा सेटिङ गरी सफाइ पाएपछि उनी केही समय मन्त्रालयमै रहे । रामनाथ अधिकारी कृषि मन्त्री भएपछि उनलाई सेटिङमै काजमा महानिर्देशक बनाइयो ।

सञ्चालन नै नहुने गुणस्तरहीन प्रयोगशाला खरिद गरेका कर्णलाई पुनः खाद्य प्रबिधिकै नेतृत्वमा पठाउनु सुशासनकै उपहासका रुपमा लिइएको थियो । काजसरुवा हुनासाथ कर्णले गुणस्तरहीन तिनै प्रयोगशाला भ्यानलाई डेन्टपेन्ट गरेर ‘आफूले खरिद गरेका भ्यान अख्तियारले भनेजस्तो गुणस्तरहीन नभएको’ देखाउन खोजेका छन् ।

प्रधानमन्त्री कृषि आयोजना अन्तर्गत उक्त भ्यान खरिद गरिएका थिए । उक्त भ्यान प्रधानमन्त्रीकै नामसँग जोडिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मन्त्री अधिकारीलाई भ्यान संचालन गर्न निर्देशन दिएपछि सो कार्यान्वयन गर्ने सर्तमा कर्णलाई विभाग पठाइएको हो ।

विभागको खाली जग्गामा बनमारा झारले छोपेर खिया लागिसकेका ती भ्यान मर्मतसम्भारका नाममा दसौं लाख खर्च भएको विभागकै एक अधिकारी बताउँछन् ।

प्रयोगशालासहितका भनिएका भ्यानहरु नाममात्रका छन् । उक्त भ्यान दैनिक उद्योग–उद्योगमा दौडाएर आतंक सृजना गर्ने काम भइरहेको छ । नायबसुब्बा र सवारी चालकका भरमा लाखौं खर्च गरेर संचालनमा ल्याइएका भ्यानहरु सडक र उद्योगमा जबर्जस्ती दौडाउने, उद्योगी तर्साउने र असुल्ने माध्यम बनेका छन् ।

उद्योगीमा आतंक सृजना गरेका तिनै कर्णलाई महानिर्देशकमा निरन्तरता दिने कृषि मन्त्री अधिकारीको चाहनालाई लेनदेनसँग जोडेर हेरिएको छ । क्षेत्रमा कार्यकर्ताको घरमा सामान्य पूजापाठ र श्राद्धमा समेत सरकारी खर्चमा लावालस्कर लिएर धादिङ झरिहाल्ने अधिकारीले मन्त्रालयमा भने कम समय दिने गरेको गुनासो छ ।

विभागको नेतृत्वमा कर्णलाई निरन्तरता दिनका लागि ठूलो बोलकबोल गराएको स्रोत बताउँछ । उनलाई महानिर्देशकका रुपमा विभागमा पदस्थापन गराउनका लागि फाइल उठिसकेको छ । कर्णलाई विभागमा बरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले दर्बिलो साथ दिंदैआएका छन् ।

आयात निर्यात शाखामा किशोर केसी अवकाशमा गएपछि सो शाखाको नेतृत्व धितालले नै गर्दैआएका छन् । धितालले शाखाको कार्यकक्षमा ताल्चा लगाएर महानिर्देशक सामुन्ने गोप्य कोठामा बसेर डिल गर्दैआएका छन् ।

महानिर्देशक कर्णले प्रयोगशाला भ्यान उद्योगहरुमा पठाएर आतंक सृजना नगरेको बताए । उनले कन्फर्म महानिर्देशक बनाउनका लागि फाइल उठेकोबारेमा अनभिज्ञता प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्