Logo
Logo

बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र


1.9k
Shares

भक्तपुर । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशंकामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् ।

‘दुवै कोठाको बाहिर ताल्चा लगाइएको छ, भित्र दुई जना मृत अवस्थामा भेटिएका छन् । मृतक दुवैको टाउको र शरीरका अङ्गमा चोट लागेकाले घट्ना हत्याका कारण भएको हुनसक्ने आधारमा हामीले अनुसन्धान अगाडि बढाएका छौँ’, उनले भने, ‘घट्ना भएपछि अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घट्नास्थलमा अनुसन्धान सुरु गरेका छौँ ।’

छिमेकीले शनिबार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको जनाइएको छ ।

जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आउनुभएको बुझिएको छ । दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बुढाथोकीले शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र सम्पर्कविहीन रहेका मिलन सम्पर्कमा आएपछि घट्नाको वास्तविकता खुल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्