एजेन्सी । इजरायलले हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलोपटक आफ्नो देशले हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा यसै वर्षको जुलाईमा मारेको स्वीकार गरेका हुन् ।
काट्जका अनुसार हानिया मारिएका बेला इरानको तेहरानस्थित एउटा भवनमा थिए । त्यसबेला पनि हमास र इरानले इजरायललाई नै हमलाको जिम्मेवार ठहर गरेका थिए । साथै उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने पनि बताएका छन् ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविरामका लागि सहमतितर्फ केही प्रगति भएको बताएका छन् । तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन ।