Logo
Logo

सत्ता जोगाउन भारत भ्रमणको हतारो


11.2k
Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु देउवा चार दिने भारत बसाइपछि सोमबार साँझ स्वदेश फर्केका छन् । उनी स्वदेश फर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चाँडो हुनसक्ने आकलन गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका लागि नेपालका तर्फबाट अनौपचारिक मितिसमेत प्रस्ताव गरिसकिएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत जनवरी ९ को मिति प्रस्ताव गरिसकेकाले परराष्ट्रमन्त्री आरजु राणा देउवा दिल्ली पुगेका थिए । तर त्यहाँ कुनै पनि प्रकारको कूटनीतिक तवरको भेटघाट हुन सकेन । अन्ततः काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको संयुक्त कार्यक्रमलाई सम्बोधन गरेर केही समय स्वास्थ्य उपचारको नाममा दिल्ली बसिन् । यस घटनापछि प्रधानमन्त्री ओलीको भारत भ्रमण जनवरी ९ बाट टाढा भएको छ ।

राणाले स्वास्थ्य उपचारकै क्रममा दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएका थिए । नेदरल्याण्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय (क्लाइमेट जस्टिस) माग्न उनी मंसिर २४ मा त्यसतर्फ गराएका थिए । उनी बेल्जियम र जर्मनीमा पनि द्विपक्षीय भेटघाट र कार्यक्रममा सहभागी भएका थिए । त्यतैबाट नयाँदिल्ली पुगेकी उनले शुक्रवार इन्डो नेपाल आर्थिक सम्मेलनलाई सम्बोधन गरेका थिए ।

परराष्ट्रमन्त्री आरजु दिल्लीमा रहेकै बेला एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि दिल्लीमै पुगेका थिए । आरजु एक्लैले भेटघाटको चाँजोपाँजो मिलाउन नसक्ने, प्रधानमन्त्रीको भ्रमणको मिति पनि तय गर्न नसक्ने भएपछि ज्ञवाली त्यहाँ पुगेको स्रोतको दाबी छ । तर ज्ञवालीले कुनै एक कूटनीतिक मामिलाका जानकारहरूलाई भेटघाट गरेको औपचारिक अनौपचारिक पुष्टि भएको छैन । नाकाबन्दीको बेला पनि ज्ञवाली ओलीको दूत भएर भारत गएका थिए । अहिले पनि ज्ञवालीको दिल्ली बसाइलाई ओलीको दूतका रुपमा बुझिएको छ ।

प्रधानमन्त्री ओलीले केही दिनअघि झापाको एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अब चाँडै भारत भ्रमणमा जाने बताएका थिए । त्यसको तयारी भइसकेको पनि घोषणा गरे । त्यसपछि परराष्ट्रमन्त्री भारत जाने तयारी गरेका थिए । त्यहाँ उनले आफ्ना समकक्षी एस जयशंकर तथा सरकारी अधिकारीहरूसँग भेट्ने प्रयास गरेका थिए । तर जयशंकरले यसपटक आरजुलाई भेटघाट दिएनन् । नाकाबन्दी हुनुअघि संविधान निर्माण गर्ने बेलामा उनै ओलीसँग नोकझोकमा रहेका एस जयशंकर भरसक यसपटक भारतमा ओलीको भ्रमण नहोस् भन्ने चाहन्छन् भन्ने बुझिन्छ ।

ओलीले भारत भ्रमणका लागि विभिन्न तहबाटै छलफल थालिरहेका छन् । प्रदीप ज्ञवाली वा आरजु देउवामात्रै होइन, उद्योगमन्त्री दामोदर भण्डारीमार्फत पनि यो कार्ड प्रयोग गरिरहेका छन् । भण्डारी केही समयअघि दिल्ली गएका बेला त्यहाँमा भाजपाका नेता विजय जोलीसँग भेटघाट गरेका थिए । त्यसक्रममा भण्डारीले प्रधानमन्त्री ओलीको भारत भ्रमणको प्रस्ताव राखेका थिए । त्यतिबेला उनीहरू बिच ओलीको भारत भ्रमणको कुराकानी भए पनि त्यसले सार्थकता पाउन सकेको थिएन ।

पछिल्लो पटक ओली आफैँले सरकारको आयु तोकिरहेका छन् । तर पनि अवधि नपुगी सत्ता जान्छ कि भनेर निकै सशङ्कित रहेका छन् । बेलाभन्दा अघि नै सरकारबाट बाहिर रहनुपर्ने चिन्तामा ओली रहेको बालुवाटार निकट स्रोतको दाबी छ । अझ कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खेलकुदले भेटघाट जुराएपछि भने ओली झन् सशङ्कित बनेका छन् ।

गत असार १७ को सात बुँदे सहमतिपछि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई छाडेर कांग्रेससँग मिलेर सरकार बनाएका थिए । असार ३० गते ओली प्रधानमन्त्री नियुक्ति भएयता प्रचण्ड प्रतिपक्षमा पुगेर देउवा–ओली र कांग्रेस–एमालेविरुद्ध चर्को आलोचना गर्दै निसाना साँधिरहेका छन् । तर आलोचनाको सिकार ओलीमात्रै परेका छन् देउवालाई भने प्रचण्डले माया गरिरहेका छन् ।

यसरी पछिल्लो पाँच महिनायता राजनीतिक रूपमा टाढिएका देउवा र प्रचण्ड शनिबार एनपिएलको फाइनल खेल हुँदा खेल मैदानमा भने सँगै देखिए । दुवैले त्यहीँ बसेर सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बिचको फाइनल खेल पूरै समय हेरे । खेल सकिएपछि खेल विजेता एनपिएलको च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीलाई सँगै उभिएर मेडल दिए ।

जनकपुरका कप्तानद्वय अनिलकुमार साह र आशिफ शेखलाई ट्रफी हस्तान्तरण गरे । देउवा र दाहालबाहेक एनपिएलको फाइनल खेल हुँदा गृहमन्त्री रमेश लेखक, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसम्मले एकैठाउँमा बसेर खेल हेरेका थिए । यो समीकरणका खेलाडी मध्ये एक रमेश लेखक पनि सँगै हुनुले झन् ओलीलाई सशङ्कित बनाएको छ ।

मुलुकका दुई पूर्वप्रधानमन्त्रीले त्रिविवि मैदानमा खेल हेरिरहेका बेला प्रधानमन्त्री ओलीले इटहरीबाट आफ्नो ध्यान त्रिविवि मैदानमा रहेको बताएका थिए । उनले इटहरीबाट विजेता र उपविजेतालाई बधाई ज्ञापन गरेका थिए । राजनीतिक वृत्तमा यसलाई केवल संयोग मात्रै मानिएको छैन, भोलिका दिनमा सत्ता साझेदारीको एउटा कडीको रुपमा पनि हेरिएको छ । माओवादी नेताहरूले आफ्नै कारणले सरकार ढल्ने बताइरहँदा प्रचण्ड र देउवा एकै लहरमा भेटिनु र एउटै मञ्चमा देखिनुलाई संयोग मात्र नभएको राजनीति वृत्तको धारणा छ ।

गत चार वर्ष अघि ओली सरकार ढाल्ने बेलामा सहकार्य गरेका नेपाली कांग्रेसका सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्ड ०७९ को निर्वाचनपछि बनेको पछिल्लो सरकारमा सँगै थिए । प्रचण्डले एमालेलाई धोका दिएर कांग्रेसको साथ लिएपछि २०७९ फागुनबाट सहकार्य गरिरहेका बेला पुन एमालेतिर ढल्कँदा देउवाले एमालेको साथ लिएर अहिले सरकारको प्रमुख हिस्सेदार बनेका छन् ।

त्यसयता प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा चर्को आलोचना गर्दै आएका छन् । तर देउवालाई भने प्रचण्डले गाली गरेका छैनन् । अर्थात् उनी फेरि सत्ताको च्याँखे दाउमा छन् । राजनीतिक रोटी सेक्नेक्रममा ओलीलाई गाली र देउवा र रवि लामिछानेलाई माया गरिरहेका प्रचण्ड शनिवार दिउँसो देउवासँगै देखिएपछि ओलीले शंकाको पारोमिटर नाप्दै आएका छन् । यसले कतिपयले नयाँ सत्ता समीकरणसँग जोडेर हेर्न थालेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणबाट चिसिएका देउवा–प्रचण्ड अन्ततः सरकारबाट टाढा हुने अवस्था आएको थियो । बालकृष्ण खाँणको पक्राउ र हाल परराष्ट्रमन्त्री रहेकी आरजु देउवामाथि भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गर्नुपर्ने विषय उठान गराएर बद्नाम गर्न उद्यत रहेको आशंका गरेका देउवा एक वर्ष यता प्रचण्डसँग रिसाएका थिए ।

राजनीतिक विषयमा दुई नेताको मिलनका सिलसिलासँगै धोका र बिछोडका घटना पनि उत्तिकै छन् । पछिल्लो समय गत फागुन २१ मा तत्कालीन प्रधानमन्त्री रहेका प्रचण्डले देउवा (कांग्रेस) सँगको सत्ता सहयात्रा तोडेर केपी शर्मा ओली (नेकपा एमाले) सँग जोडिन गएपछि देउवाले प्रचण्डलाई सरी भन्ने गरेका छन् । त्यसपछि भने प्रचण्डलाई कांग्रेसले ‘धोकेबाज’ को आरोप लगाउँदै आएको छ ।

देउवाले उनको विश्वास गर्न छाडेका छन् । अहिले उनीहरू सत्ता पक्ष र प्रतिपक्षको भूमिकामा देखिएकाले परिस्थिति असहज बन्दै गएको छ । तर पछिल्लो केही दिनयता यो सरकार आफ्नै कारण ढल्छ भन्दै प्रचण्डले सरकारको आयु तोकिरहेका छन् । यद्यपि, प्रधानमन्त्री ओलीले नै यो सरकारको आयु अब १७ महिना रहेको र त्यसपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्