गलकोट । बागलुङमा उत्पादित किबी अन्य जिल्लामा खपत हुन थालेको छ । बागलुङको भकुण्डे, बिहुँ, बडिगाड, ढोरपाटन, निसीखोला र दुदिलाभाटीलगायत स्थानमा उत्पादन भएको किबी बुटवल, काठमाडौं र पोखरालगायत स्थानमा बिक्री भइरहेको छ ।
विदेशमा समेत प्रशस्त उत्पादन हुने किबी बहुगुणी फलमध्येमा पर्छ । काठेखोला गाउँपालिका–५ बिहुँका खिमानद कँडेलले उत्पादन गरेको किबी बुटवल र काठमाडौंसम्म लैजान थालिएको छ । उनले किबी बिक्री गर्न थालेको दुई वर्ष भएको छ । कँडेलको १२ रोपनी क्षेत्रफलमा किबीखेती छ ।
यस्तै काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछाने, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष राजु थापाले समेत यस वर्ष किबी बजारमा पठाएका छन् । एकपटकको लगानीले वर्षौंसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति यहाँका किसानको आकर्षण छ । मूल्य सस्तो भए पनि पोखरा, काठमाडौं, बुटवल तथा नारायणगढसम्म किबी खपत भइरहेको छ ।
यस वर्ष एक हजार केजी किबी काठमाडौंलगायत ठूला सहरमा बजारीकरण गरेको किबी किसान खिमानन्द कँडेलले जानकारी दिए । किबीको मूल्य क्रमशः घट्दै गए पनि उत्पादन बढ्दै गएको उनको भनाइ छ । प्रतिकेजी तीन सयमा बिक्री हुँदै आएको किबीले क्रमशः बजार पाउन थालेपछि यहाँका किसान उत्साहित छन् ।