काठमाडौं, ३१ जेठ । केही दिनयता जारी सरकारविरोधी आन्दोलन स्थगन गर्न साझा पार्टीले आह्वान गरेको छ । सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको भन्दै साझा पार्टी प्रदर्शन स्थगन गर्न आह्वान गरेको हो ।
शनिबार विज्ञप्ति जारी गर्दै पार्टीले पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शंकाको सुविधासहित स्वागत गरेको छ ।
उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो संक्रमणको पृष्ठभूमिमा जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचाअनुरूपका काम गरे÷नगरेको मूल्यांकन गर्न अपिल गरिएको छ ।
साथै, आज प्रतिनिधिसभाबाट लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको नेपालको नयाँ नक्सासहितको निसान छापका लागि संविधान संशोधन हुने कार्यसूची भएकाले सम्पूर्ण नेपालीहरूलाई नयाँ नक्सा राख्ने गरी निसान छाप संशोधन गर्ने संसद्को ऐतिहासिक निर्णयलाई पनि स्वागत गरेको छ ।