Logo
Logo

सरकारविरुद्ध राप्रपा सडकमा उत्रने


567
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गठन भएको सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको छ । कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार गठन भएको पाँच महिना बित्दै गर्दा असफलताउन्मुख रहेको भन्दै राप्रपाले खबरदारी सभा गर्ने निर्णय गरेको हो ।

मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकपछि राप्रपाले विज्ञप्तिमार्फत पुस र माघ सरकारविरुद्ध प्रदेश, जिल्ला र स्थानीय तहमा खबरदारी सभा गर्ने निर्णय गरेको छ ।

सरकारविरुद्धको खबरदारी सभालाई पार्टीको पक्षमा जनमत सिर्जना गर्ने उद्देश्य राखेको जनाउँदै विज्ञप्तिमा भनेको छ, ‘एमाले–कांग्रेस गठबन्धन सरकार ६ महिना नपुग्दै असफलतातर्फ उन्मुख भएको छ । संसद्को पहिलो र दोस्रो दल सम्मिलित सरकार पनि जनतामा उत्साह पैदा गराउन असफल रह्यो ।’

सहकारीपीडितका समस्यामा गम्भीर बन्न सरकारलाई आग्रह गर्दै राप्रपाले बचत रकम हिनामिना गर्ने जोकोहीलाई कानुनी कारबाही दायरामा ल्याउन पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्