काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको जिम्मेवारी खोसेको छ ।
बुधबार बसेको सचिवालय बैठकले पार्टी भवन निर्माणका सवालमा पाण्डे र तिम्सिनाले दिएको अभिव्यक्तिलाई लिएर एमालेले उनीहरूको जिम्मेवारी ६ महिनाका लागि खोसेको हो ।
उनीहरूलाई यसअघि एमालेले स्पष्टीकरण सोधेको थियो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेको भवनबारे सार्वजनिक टिप्पणी गरेको भन्दै सचिवालय बैठक राखेरै उनीहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो ।
पाण्डे र तिम्सेनाले आफूहरुमाथि कारबाही गरिनुपर्ने आवश्यकता नरहेको जवाफ पठाएका थिए । ‘…अभिव्यक्तिले पार्टीको गरिमा र छविलाई माथि उठाउने हो घटाउने होइन । फेसबुकमा लेखेको र सार्वजनिक रूपमा बोलेको कुरामा तथ्यहरूले गल्ती भन्दैनन्’, स्पष्टीकरणमा भनिएको छ ।