Logo
Logo

पार्टी अनुशासनको व्याख्या गर्न एमाले महासचिवले लिए एआईको सहारा


4.5k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अनुशासनको व्याख्या गर्न एआईको सहारा लिएका छन् ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ भने स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ ।

पार्टी निर्णयको बचाऊ गर्दै महासचिव पोखरेलले पार्टी अनुशासन बारे एआईको धारणा भन्दै एक सन्देश बुधबार साँझ शेयर गरेका छन् । ‘पार्टी अनुशासनबारे एआईको धारणा’ शिर्षकमा शेयर गरिएको सामग्रीमा पार्टी अनुशासनको महत्व बारे उल्लेख गरिएको छ ।

महासचिव पोखरेलको स्टाटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रोचक प्रतिक्रिया दिइरहेका छन् । एक प्रयोगकर्ता महादेव भारतीले लेखेका छन्– ‘अब एमाले अध्यक्ष पनि एआईलाई बनाउनुपर्छ ।’

मेघराज खड्का महासचिव पोखरेललाई जवाफ फर्काउँदै लेख्छन्, ‘पार्टी अनुशासन एआईले नभएर विधानले चलाउँदा राम्रो होला कमरेड ।’

अर्का प्रयोगकर्ता शुभसन्देश गौतमले पार्टीमा स्वेच्छाचारिता र निरंकुशता बढ्दै गए के हुन्छ भन्ने प्रश्नमा एआईको जवाफलाई शेयर गरेका छन् ।

अर्याल सरोज पार्टीभित्र बोल्नै नपाउने, फरक मत राख्नै नपाउने, कारबाहीको डन्डा चलाइहाल्ने अभ्यासले एमाले २०८४ को चुनावबाट चौथो स्थानमा पुग्ने टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्