काठमाडौं, ३१ जेठ । नेपाल धितोपत्र बोर्डको २०७७ साल वैशाख २६ गतेको निर्देशानुसार २०७७ साउनदेखि अनिवार्यरुपमा विद्युतीय माध्यमबाट मात्र शेयर कारोबार गर्नुपर्ने तथा हालको अकल्पनीय विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरसका कारणले घरबाट बाहिर निस्कने असहज परिस्थितिलाई ध्यानमा राख्दै यस हिमालयन क्यापिटल लिमिटेडले आफ्ना ग्राहकलाई सहज लगानी तथा शेयर कारोवार गर्न अनलाइनमार्फत डिम्याट र मेरोशेयर खाता खोल्ने व्यवस्था मिलाएको छ जनाएको छ । (शेयरको दोस्रो बजारमा कारोबार गर्नुअघि भौतिकरूपले कार्यालयमा उपस्थित हुने शर्तमा) साथै २०७७ असार मसान्तसम्म उल्लेखित खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने जनाएको छ ।
हिमालयन क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै विश्वासका साथ गुणस्तरीय सेवामार्फत आफ्ना ग्राहक तथा लगानीकर्तालाई पूँजीबजारमा सवल तथा सुसूचित भई सहज लगानी तथा शेयर कारोबार गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।
डिम्याट तथा मेरोशेयर खातासँगै हिमालयन क्यापिटलले पूँजीबजारमा आफ्ना ग्राहक तथा लगानीकर्ताहरुमाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक, संस्थागत परामर्श, धितोपत्र प्रत्याभूति र शेयर रजिष्ट्रेशन सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।