काठमाडौं । काठमाडौंमा ह्वात्तै चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ ।
बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन भएको थियो । आज न्यूनतम तापक्रम घटेसँगै चिसो बढेको छ । मौसमविद प्रतिभा मानन्धरका अनुसार बुधबार काठमाडौंको आकाशमा बादल लागिरहेको थियो । त्यसकारण न्यूनतम तापक्रम घट्न पाएन । त्यसको तुलनामा आज कम छ । बादल हटेसँगै न्यूनतम तापक्रम घटेको मौसमविद् मानन्धरले बताइन् ।
मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो । त्यसअघि पनि न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा केही कम र केही बढी मापन भएको थियो । मौसमविद् मानन्धरका अनुसार देशभरिको तापक्रम घट्दो क्रममा रहेको छ ।
यस्तै, भोलि साँझदेखि वर्षा र हिमपातको सम्भावना भएकाले तापक्रम अझै घट्ने सम्भावना रहेको मौसमविद् मानन्धरले बताइन् । काठमाडौंमा बिहीबार अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।