जनकपुरधाम । धनुषामा एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ । धनुषाको मिथिला नगरपालिका–३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या गरी आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले बताए ।
प्रहरी निरीक्षक साहका अनुसार घरायसी बिबादमा श्रीमान दशैयाले श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । श्रीमान दशैयाकै बयानअनुसार श्रीमती रेशमीको शव फेला परेको हो ।
मृतक रेशमीकी बुहारीले प्रहरीलाई दिएको बयान अनुसार दिउँसो १२ बजेसम्म श्रीमान–श्रीमतीबीच झगडा भएको थियो । प्रहरीले सोधपुछ गरेपछि हत्या गरेर शव शौचालयको पछाडि गाडेको दशैयाले बताएका थिए । बुधबार राति नै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी निरीक्षक साहको नेतृत्वमा पुगेको टोलीले शव उत्खनन गरी मुचुल्का गरेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो ।
दशैयालाई प्रहरीले पक्राउ गरेको छ । राति मदिराको नशामा रहेकाले आज दशैयासँग बयान लिइने इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।