काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीका प्रतिवादीहरुको बयान आज पनि जारी रहने भएको छ । न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भएपनि हिजो (बुधबार) सार्वजनिक बिदा परेकाले बयान भएको थिएन ।
आजसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीको मात्र बयान सकिएको छ । मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो । उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएको अधिकारीले बताए । आज रास्वपा सभापति रवि लामिछानेको बयान हुने सम्भावना पनि न्यून रहेको अधिकारीले बताए । प्रतिवादीहरुको अदालती बयान नसकिएकाले थुनछेक बहस सुरु हुन सकेको छैन । कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो ।