एजेन्सी । अफ्रिकी देश मोजाम्बिकको जेलमा बन्दी जीवन बिताइरहेका १५ सयभन्दा बढी कैदी फरार भएका छन् । चुनावी नतिजाको विरोधमा सरकारविरोधी संगठनहरूले गरेको प्रदर्शनको फाइदा उठाउँदै उनीहरू जेलबाट फरार भएका हुन् ।
मोजाम्बिकको प्रहरीले कम्तिमा १५ सय कैदीहरू जेलबाट फरार भएको बताएको छ । प्रहरी प्रमुख बर्नाडो राफाएलले त्यसक्रममा सुरक्षा गार्डहरूसँग झडप भएको पनि बताएका छन् । झडपका क्रममा ३३ जनाको मृत्यु भएको र १५ जना घाइते भएका बीबीसीले जनाएको छ ।
प्रहरी प्रमुखले जेलबाट भागेका १५० जनाभन्दा बढीलाई पुनः पक्राउ गरिएको जानकारी दिएका छन् । सोमबार मोजाम्बिकको एक अदालतले गत अक्टोबरमा भएको चुनावमा सत्तारुढ दल प्रिलिमोको जितको पक्षमा फैसला सुनाएपछि विरोध प्रदर्शन सुरु भएको हो ।
मोजाम्बिकमा सन् १९७५ देख यही पार्टी सत्तामा छ । यद्यपि, गत अक्टोबरमा सम्पन्न चुनावपछि भने त्यहाँको शान्ति सुरक्षा खलबलिएको थियो ।